भीम रावल भन्छन्- 'ओली र दाहाल दुवै जना पार्टी फुटाउने पक्षमा छैनन्'
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने बताएका छन्। कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोध भए पनि पार्टी फुटाउने नियत नभएकाले पार्टी विभाजन नहुने बताएका हुन्।
नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने संकेत गरे। उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुबै जना पार्टी फुटाउने योजनामा समेत नरहेको उल्लेख गर्दै पार्टी कुनै माटोको हाडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गरे।
नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रुपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए। कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले बताए।
उनले गत २६ भदौको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताए। पार्टी विधि, पद्धति र जनताको चाहाना अनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर विरोध चर्किएको नेता रावलको भनाइ छ। उनले पार्टी अध्यक्षहरुलाई विधि र प्रणाली अनुसार चल्न पनि आग्रह गरे।