जाडो यामका लागि २५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले दियो स्वीकृति
नेपाल विद्युत प्राधिकरणले यसपालिको जाडो यामका लागि ढल्केवर–मुजफ्फरपुर लाइन मार्फत २ सय ५० मेगावाटसम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएको छ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएका छन्। शाक्यले नियमित आयात भइराखेको भन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्थामा ल्याउन सक्नेगरी सम्झौता स्वीकृत भएको बताए। जाडोयामको लागि अपुग बिजुली आयात गरी समस्या समाधान गर्नको लागि उक्त स्वीकृति लिएको शाक्यको भनाइ थियो।
"ढल्केवरबाट हामीले आयात गरेर नेपाली प्रणालीमा खपत गर्न सक्ने भनेको करिब ३ सय मेगावाट भन्दा बढी छैन्। त्यहाँ भन्दा तलतिर १ सय ३२ केभीका लाइनहरू मात्रै जोडिएका छन। त्यसपछि हामीले अहिले २ सय ५० मेगावाटको सम्झौता स्वीकृत भइसकेको छ। भर्खरै हिजोमात्र स्वीकृत भइसकेको छ", उनले भने, "त्यहाँबाट २ सय ५० मेगावाट आइसकेपछाडि बाँकी केही कुसाह–कटैया र टनकपुरबाट हामीले अहिले पनि लिन्छौं र पछि पनि पूर्व पश्चिमबाट लिनुपर्ने हुन्छ। त्यति गरेपछि यो जाडो महिनाको उर्जाको माग पुरा हुन्छ।"
यो स्वीकृति २०२१ सम्मलाई मात्र रहेको छ। त्यो समयसम्म नेपालको आफनै बिजुली उत्पादन धेरै हुने भएकाले आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि कामु कार्यकारी निर्देशक शाक्यले बताए। आगामी वर्षको शुरूआतदेखि नै अधिक बिजुली उत्पादन हुने देखिएकाले त्यसको व्यवस्थापनमा चुनौति देखा पर्न सक्नेछ।
अहिले उर्जा क्षेत्रमा भएको लगानीबाट उत्पादन शुरु भएपछि त्यसको खपत बढाउन नसक्ने हो भने बिजुली खोलामा बगाउनुपर्ने स्थिति आउन सक्ने र यस्तो स्थिति आएमा देशको अर्थतन्त्रमा घाटा हुने उनको भनाइ छ। यसबाट प्राधिकरणसँगै उत्पादक कम्पनीहरूलाई समेत घाटामा जाने देखिन्छ।
"यो चुनौति यही बैशाखदेखि शुरु हुँदैछ। प्राधिकरणको लागि यो ठूलो चुनौति हो। प्राधिकरण सँगसँगै नेपालको अर्थतन्त्रको लागि पनि चुनौति हो। उर्जा उत्पादन केन्द्रहरुमा हामीले धेरै लगानी गरिसक्यौं। लगानी गरेर त्यसबाट निस्किएका बिजुली हामीले प्रयोग गर्न सकेनौं र खोलामै बगाउनु पर्यो भने देशका लागि र अर्थतन्त्रका लागि घाटा हुन्छ। त्यसपछि विद्युत प्राधिकरणसँगसँगै अन्य धेरै संस्थाहरूलाई असर पर्छ", उनले भने।