शेयर बजार कारोबार रकममा नयाँ रेकर्ड, आइतबार ६ अर्ब ९० करोडको कारोबार
शेयर बजारमा आइतबार कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ।
आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रूपैयाँ बढीको शेयर कारोबार भएको छ। गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रूपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो।
उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ। बजारमा २०१ कम्पनीको ६३ हजार ५७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर खरिद बिक्री भएको छ।
कारोबार शुरू भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ।
दिनभर नेप्सेमा करीब ५० अंकको उतारचढाव देखिएको छ। सेन्सेटीभ परिसूचक पनि २ अंकले बढेर ३४५ अंकमा बन्द भएको छ। कारोबारमा आएका समूहमध्ये ब्यांकिङ, विकास ब्यांक र अन्य समूह बाहेकका सबै समूहका सूचकहरू घटेका छन्।
यसअघिका दिनहरूमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरू ती क्षेत्रको शेयर बिक्री गरी ब्यांकतर्फ आकर्षित भएको देखिन्छ। त्यसैले अन्य समूहमा दबाब भइरहदा पनि ब्यांकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ। विकास ब्यांक शून्य दशमलव ६४ प्रतिशत र अन्य समूह शून्य दशमलव १ प्रतिशत बढेको छ।
लगानीकर्ताहरू तुलनात्मक रूपमा सस्तो रहेका ब्यांक तथा वित्तीय संस्थाका शेयर खरिद गर्न झुम्मिएको देखिन्छ। घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ। यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ।
आइतबार सबै भन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लख १९ हजार रूपैयाँको भएको छ। यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रूपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रूपैयाँको शेयर कारोबार भएको छ।
यसबाहेक २० करोड रूपैयाँ बढीको शेयर कारोबार हुने कम्पनीहरूमा हिमालयन डिस्टिलरी, नेपाल ब्यांक, प्रभु ब्यांक, नबिल ब्यांक, नेको इन्स्योरेन्स, शिवम् सिमेन्ट रहेका छन्। सिटिजन्स म्युचुअल फण्ड दोस्रोका इकाईधनीहरूले १० प्रतिशतले कमाएका छन्।
जानकी फाइनान्सका शेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन्। बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिएपनि माउन्टेन हाइड्रो नेपालका शेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन्।