मोबाइल भ्यानमार्फत् स्वाब संकलन गर्दै काठमाडौं महानगरपालिका
कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन शुरू गरेको छ। महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरूको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत् स्वाब संकलन शुरू गरिएको हो।
चाहेर पनि स्वाब संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत् स्वाब संलकनको काम थालिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई एउटा मोबाइल भ्यान हस्तानतरण गरेको छ।
सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफैं गर्न सक्ने क्षमता भएकाहरूलाई शुल्क तिरेरै गर्न आग्रह गरे।
कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मिहिनेत गरिरहेपनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए। उनले स्थानीय स्तरबाट नै कोरोना महामारीविरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए।
काठमाडौँ महानगरपालिका परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न प्रमुख शाक्यले आग्रह गरे।