ला लिगामा बार्सिलोनाको तेस्रो हार, एट्लेटिकोसँग १-० गोलले पराजित
स्पेनी ला लिगामा बार्सिलोनाले यो सिजन आठ खेलमा तेस्रो हार बेहोरेको छ। गए राति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सालाई १-० गोल अन्तरले पराजित गरेको छ।
एट्लेटिकोका लागि घरेलु मैदानमा एक मात्र गोल यानिक कारास्कोले गरेका थिए। उनले ४५औँ मिनेटमा एन्जेल कोरियाको पासमा गरेको गोल नै निर्णायक भयो।
जितपछि आठ खेलबाट २० अंकसहित एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ। उति नै अंक भएको रियल सोसिडाड शीर्ष स्थानमा छ। तर, सोसिडाडले एक खेल बढी खेलेको छ। बार्सा भने आठ खेलबाट ११ अंकसहित १०औँ स्थानमा छ।
यो सिजन खेलेका आठ खेलमा बार्सा तीनमा पराजित भएको छ भने तीनमा जित र दुईमा बराबरी नतिजा निकालेको छ। बार्साले यो सिजनमा गेटाफे, रियल मड्रिड र एट्लेटिको मड्रिडसँग पराजय बेहोरेको हो। तीनै खेल उसले ‘अवे’ मैदानमा खेलेको थियो।