अमेरिकामा कोरोना संक्रमित र मृतकको संख्या बढ्यो, क्यालिफोर्नियामा रात्रिकालीन निशेधाज्ञा
अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित र मृतकको संख्या गएको अप्रिल–अगष्टको भन्दा बढी हुन थालेको छ। संक्रमण नियन्त्रणका लागि दोस्रो धेरै प्रभावित राज्य क्यालिफोर्नियाले शनिबारदेखि रात्रिकालीन निशेधाज्ञा जारी गरेको छ।
गएको हप्ता क्यालिफोर्नियामा १० लाख संक्रमित भेटिएपछि टेक्सासपछि अमेरिकाको दोस्रो धेरै संक्रमित भएको राज्य भएको छ। संक्रमण नियन्त्रणका लागि त्यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाइएको छ।
यो प्रतिबन्ध कम्तीमा २१ डिसेम्बरसम्म जारी रहनेछ। त्यसपछि अवस्था हेरेर लम्ब्याउन सकिने त्यहाँका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। संक्रमण बढे क्रिसमसमा पनि निशेधाज्ञा लागू हुनेछ।
क्यालिफोर्नियाका रेस्टुरेन्टलाई ‘होम डेलिभरी’ मात्र गर्न सक्ने आदेश छ। उक्त राज्यका ५८ मध्ये ४१ काउन्टी अति प्रभावित छन् र त्यहाँ ‘स्टे एट होम’ आदेश जारी छ। केही काउन्टीले कडा बन्दाबन्दीको आदेश जारी गर्नसक्ने जनाइएको छ।
क्यालिफोर्नियामा गभर्नर गाभिन न्युसोमले रात्रिकालीन निशेधाज्ञा जारी गरेका हुन्। यसअघि न्यूयोर्कमा पनि रात्रिकालीन निशेधाज्ञा लगाइएको थियो।
द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले सबै अमेरिकीलाई २६ नोभेम्बरको ‘थ्याङ्स गिभिङ डे’ को बिदामा लामो यात्रा नगर्न आग्रह गरेको छ। थ्याङ्स गिभिङ डे पर्ने हप्ता अमेरिकामा सबैभन्दा बढी यात्रा हुन्छ। गएको वर्षको थ्याङ्स गिभिङ डे परेको हप्ता त्यहाँका एयरपोर्टबाट दुई करोड ६० लाख जनाले यात्रा गरेका थिए।
अहिलेसम्म अमेरिकामा जम्मा एक करोड २४ लाख ४० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये दुई लाख ६१ हजार ७६० जनाको मृत्यु भइसकेको छ। क्यालिफोर्नियामा मात्र ११ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।
गएको मे यता बिहीबार पहिलोपटक मृतकको संख्या दुई हजार नाघेको थियो। शुक्रबार एक हजार ९९८ र शनिबार एक हजार ४३० जनाको मृत्यु भएको छ।
बिहीबार विश्वभरिमा ११ हजार २२ जना र शुक्रबार ११ हजार १३५ जनाको मृत्यु भएको छ। शनिबार भने आठ हजार ८६४ जनाको मृत्यु भएको छ। मार्च–अप्रिलको पहिलो लहरमा विश्वभर एकैदिन सबैभन्दा बढी १७ अप्रिलमा आठ हजार ५३४ जनाको मृत्यु भएको थियो। दोस्रो लहरमा दैनिक मृतकको संख्या औषतमा १० हजार नाघ्न थालेको छ।
दोस्रो लहरमा सबैभन्दा बढी अमेरिका र युरोप प्रभावित छन्। अमेरिकाका टेक्सास र क्यालिफोर्नियामा संक्रमण उच्च गतिमा छ। धेरै राज्यले मास्क अनिवार्य लगाउनका लागि नयाँ नियम जारी गरेका छन् भने नयाँ प्रतिबन्धहरु प्नि लागू गरिएको छ।