ललितपुरस्थित पुल्चोक इन्जीनियरीयङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवारदेखि ‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रम शुरु भएको छ।
यो कार्यक्रम हरेक वर्ष अन्तर्राष्ट्रिय संस्था हल्ट प्राइज फाउन्डेसनले आयोजना गर्ने एउटा प्रतिस्पर्धात्मक कार्यक्रम हो।
विद्यार्थीहरुको नोबल पुरस्कार भनेर चिनिने यो कार्यक्रमअन्तर्गत शनिवार त्रिभुवन विश्वविद्यालयका इन्जीनियरिङका विद्यार्थीहरुका २० वटा टोली छानिएका छन्। हरेक वर्ष अन्तिम चरणमा पुग्ने एउटा विजयी टोलीले १० लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउने व्यवस्था छ।
अरेबियन मुलकका चर्चित उद्यमी अहमद अस्गरले स्थापना गरेको यो पुरस्कार कार्यक्रम अन्तर्गत शनिवार भएको सेमीफाइनलपछि अब आउँदो ५ डिसेम्बर महीनामा अन्तिम प्रतिस्पर्धा हुँदैछ।
अन्तिममा पर्ने तीन वटा नेपाली विद्यार्थीहरुको टोलीले विदेशमा आयोजना हुने क्षेत्रिय प्रतिष्पर्धामा भाग लिन पाउनेछन्। ५० भन्दा बढी मुलुकमा क्षेत्रिय प्रतिस्पर्धा हुने गरेको छ। क्षेत्रिय प्रतिस्पर्धापछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन्छ। र, यहीँ कार्यक्रममार्फत १० लाख अमेरिकी डलर रकम पाउने टोली छनोट हुनेछ।
तर शुरुवातमा विभिन्न देशका क्याम्पसबाट टोली छनोट गर्न अन्तर क्याम्पस प्रतिस्पर्धात्मक कार्यक्रमको आयोजना गरिदैँ आएको छ।
२० टोली छनोट गर्ने निर्णायक मण्डलको टोलीमा आनी छोइङ डोल्मा, डिजिटल नेपालका प्रमुख कार्यकारि अधिकृत इन्जीनियर आदित्यराज र अफ्रिकी मुलुकका कृषि क्षेत्रका अभियन्ता अल्फा सेनान थिए। प्रतिस्पर्धामा सहभागि विद्यार्थीहरुले निर्णायक मण्डल समक्ष मानिसको जनजीवन र वातावरणलाई फाइदा पुर्याउने खालका आइडियाहरु प्रस्तुत गर्नुपर्ने हुन्छ।
युवाहरुलाई सामाजिक उद्यमशिलतामा अग्रसर बनाउने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्ने गरिएको हल्ट प्राइज एट आइओई मिडिया म्यानेजर अनिशा अधिकारीले बताईन्।
कार्यक्रमको यस वर्षको विषय ‘फुड फर गुड’ अर्थात राम्रोका लागि खाना भन्ने राखिएको छ।
सहभागी विद्यार्थीहरुले शनिवारको कार्यक्रममार्फत यहि विषयमा आफ्नो आइडिया प्रस्तुत गरेका थिए।