नेकपा नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी, वरिष्ठ नेता नेपालद्वारा भर्त्सना
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा आयोजित एउटा कार्यक्रममा नाराबाजी भएपछि वरिष्ठ नेता माधवकुमार नेपालले त्यसको विरोध गरेका छन।
शनिबार चितवनको राप्ती नगर पार्टी बैठकमा मन्तव्य राखिरहेका बेला कार्यक्रममा नेता पाण्डेविरुद्ध नाराबाजी भएको थियो। वरिष्ठ नेता नेपालले पाण्डेविरुद्ध भएको नाराबाजीको विज्ञप्तिमार्फत भर्त्सना गरेका छन्। पाण्डेविरुद्ध सुनियोजित रूपमा केही व्यक्तिहरूले अभद्र व्यवहार गरेको भन्दै छानविन गरी कडा कारबाही गर्न पनि नेता नेपालले माग गरेका छन्।
‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’, नेता नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भएपनि छानविन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु’, नेता नेपाल विज्ञप्तिमा उल्लेख गरेका छन्।
२०७७ मंसिर ६ गते: विज्ञप्ती ! गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा...
Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Saturday, November 21, 2020
त्यस्तै अर्का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पनि यसको विरोध गरेका छन्। 'हुलहुज्जत बहुदलीय जनबादको कोर्ष होइन। बिमर्श, छलफल र फरकमतको सम्मान जबजको बिशेषता हो!' मन्त्री भट्टराईले ट्वीट गरेका छन्।