नारायणहिटी दरबार संग्राहलयभित्र रहेको 'श्री सदन' सर्वसाधारणका लागि खुला
नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरूका लागि खुला भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा शुरुआत गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ।
आजबाट खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताए। इतिहासलाई जीवित राख्न सकेमात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उनले बताए। देश तथा विदेशका अनुसन्धानकर्ताहरूका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदीका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेपाली इतिहासमा २४० वर्षिय शाह वंशिय इतिहासको साक्षत नमूनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए।
नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको शुरूमै श्री सदन खुला गर्ने योजना रहेपनि कोभिडका कारण सम्भव नभएको बताए। अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए। ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरूका नाम जिल्लाबाट राखिएको पनि उनले बताए। अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रम अनुसार सबै खुला हुने उनले बताए।
श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले तत्कालिन राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ। यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ।
२०२३ सालमा बनेको यो सदन तीन तलाको छ। १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो। उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए। अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए। गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो।