बन्दाबन्दी सदुपयोग गर्दै, स्वरोजगार बन्दै
कोरोना संक्रमण रोकथामका लागि ११ चैत २०७६ देखि बन्दाबन्दी शुरू भयो। त्यसपछि पनि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए। यो अवधिमा धेरै मानिसहरू बेरोजगार भए। धेरैलाई प्रतिकुल बनेको बन्दाबन्दीको समयलाई सदुपयोग गर्नेहरू भने अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन्।
बन्दाबन्दीको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरणिय व्यक्ति बनेका छन्, हेटौडा–६ शान्तिटोलका भरत सापकोटा। बन्दाबन्दीका कारण आफूले लाखौं लगानी गरेर सञ्चालन गरेको निजी विद्यालय बन्द भएपछि उनलाई ब्यांकको ब्याज तिर्न समेत समस्या भयो। आफ्नो पुर्ख्यौली जमिनमा व्यवसायिक ढंगबाट एकिकृत कृषि फार्मको शुरूआत गरे। बन्दाबन्दी कै बीचमा कुखुरा, माछा र तरकारी खेति शुरू गरेका सापकोटाले अहिले आम्दानी लिन थालेका छन्।
यस्तै बन्दाबन्दी भन्दा अगाडी हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौंडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि बन्दाबन्दीकै बीचमा व्यवसायिक तरकारी खेति शुरु गरेको छ। बेमौसमी तरकारी खेति शुरू गरेका उनीहरूको परिवारले पहिलो उत्पादनमै ३ लाख रुपैयाँ बढीको तरकारी विक्री गर्न सफल भएको छ। बन्दाबन्दीको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरू आफू त स्वरोजगार भए नै, अरूलाई पनि काम दिने अवस्थामा पुगिसकेका छन्।
बन्दाबन्दी र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरूलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले स्वरोजगार कार्यक्रम शुरु गरेको छ। बेरोजगारहरूलाई व्यवसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ। यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरेका छन्।
हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यवसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतको रुपमा अगाडी बढाएका छन्। तर सिपमुलक तालिम र पर्याप्त लगानी नहुँदा उनीहरूले अपेक्षित लाभ हासिल गर्न भने सकिरहेका छैनन्। राज्यले बन्दाबन्दी र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरूलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने देखिन्छ।