पोप फ्रान्सिसको इन्स्टाग्रामबाट मोडलको तस्वीर लाइक भएपछि छानबिन गर्दै भ्याटिकन
पोप फ्रान्सिसको इन्स्टाग्रामबाट ब्राजिलियन मोडलको फोटो ‘लाइक’ भएपछि भ्याटिकनले छानबिन थालेको छ।
भ्याटिकनले यो विषयमा इन्स्टाग्रामसँग स्पष्टिकरण मागेको जनाएको छ। पोपको एकाउन्टबाट ब्राजिलियन मोडल नतालिया गेरिबोतोको एक तस्वीर लाइक भएको थियो। पोपको आधिकारिक इन्स्टाग्राम एकाउन्टबाट कतालियाको कम कपडा लगाएको तस्वीर कसरी लाइक भयो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।
उक्त तस्वीरमा नतालियाले विद्यालय पोशाकसँग मिल्ने कपडा लगाएकी छिन्। यो घटनाले भ्याटिकनका अधिकारीलाई समस्यामा पारिदिएको बीबीसी हिन्दीले जनाएको छ।
नतालियाको व्यवस्थापक कम्पनीले उक्त तस्वीरलाई दोस्रोपटक पनि इन्स्टाग्राममा पोष्ट गर्दै लेखेको छ, “उनलाई आधिकारिक रुपमा नै पोपको आशिर्वाद मिलेको छ।” उता नतालियाले लेखेकी छिन्, “म त अब पक्का स्वर्ग जानेवाला छु।” इन्स्टाग्राममा उनका २४ लाख फलोअर्स छन्।
पोप स्वयम् पनि सामाजिक सञ्जालमा लोकप्रिय छन्। इन्स्टाग्राममा उनका ७४ लाख फलोयर्स छन्। भ्याटिकनले केही व्यक्तिको समूहले पोपको आधिकारिक सामाजिक सञ्जाल चलाउने जनाएको छ। स्वयम् पोप भने कुनै सामाजिक सञ्जाल नचलाउने बताइएको छ।