हङकङ मामिलामा पश्चिमी देशलाई चीनको चेतावनी- आलोचना गर्नेको आँखा निकालिदिन्छौँ
हङकङ मामिलामा पश्चिमी देशले दख्खल दिएको आरोप लगाउँदै चीनले कडा चेतावनी दिएको छ। उसले आफ्ना आलोचकको आँखा निकालिदिने धम्की दिएको छ।
चीनको चेतावनी अमेरिका, बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाविरुद्ध लक्षित छ। यी देशले चीनलाई हङकङमा आफ्ना आलोचकलाई चुप लगाउन हरसम्भव कोशिस गरिरहेको आरोप लगाएका थिए। चीनले हङकङमा निर्वाचित सांसदलाई अयोग्य बनाउन नयाँ नियम बनाइएको उनीहरुको आरोप थियो।
यो आरोप आएपछि चीनले पनि पश्चिमी देशप्रति कडा प्रतिक्रिया दिएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले आफ्नो आन्तरिक मामिलामा दख्खल नदिन चेतावनी दिँदै भनेका छन्, “सावधानी अपनाउ, अन्यथा आँखा निकालिनेछ। उनीहरु पाँच वा १० हुन्, त्यसले केही फरक पर्दैन।” प्रवक्ता लिजिआनले चीनले कसैलाई समस्या खडा नगर्ने र कसैसँग नडराउने बताएका छन्।
पछिल्लो हप्ता चीनले पारित गरेको एक प्रस्ताव बमोजिम राष्ट्रिय सुरक्षामा खतरा पैदा गर्ने जुनसुकै नेतालाई पनि हङकङ सरकारले बर्खास्त गर्न सक्नेछ। त्यसलगत्तै हङकङले लोकतन्त्र समर्थक चार सांसदको बर्खास्त गरेको थियो। ती सांसद प्रदर्शन र हिंसामा संलग्न रहेको चीनको आरोप छ।
त्यसपछि हङकङका सबै लोकतन्त्र समर्थक सांसदले राजीनामा घोषणा गरेका थिए। सन् १९९७ पछि बेलयातले हङकङ चीनलाई हस्तान्तरण गरेपछि संसदमा विरोधी सांसद नरहेको यो पहिलोपटक हो।
पश्चिमी पाँचै देशका विदेश मन्त्रीले चीनसँग सबै सांसदलाई पुनर्बहाली गर्न आग्रह गरेका थिए। चीनको कदम हङकङको स्वायत्तता र स्वतन्त्रताको रक्षा गर्ने चीनकै कानूनी प्रतिबद्धताको उल्लंघन भएको ती देशका विदेश मन्त्रीले बताएका थिए।