क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, पछिल्लोपटक ओडीआई खेलेका सबै परे
नेपाल क्रिकेट संघ (क्यान) ले १० मंसीरदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ। क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका २० र अन्य दुई गरी २२ जनालाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।
क्यानले राष्ट्रिय टिमका व्यवस्थापक विक्रम न्यौपानेलाई लेखेको पत्र सामाजिक सञ्जालमा राख्दै खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। बन्द प्रशिक्षणअघि ८ मंसीरमा पीसीआर जाँच गरिने र नेगेटिभ नतिजा आउनेलाई मात्र प्रशिक्षणमा राखिने क्यानले पत्रमा उल्लेख गरेको छ।
बन्द प्रशिक्षणका लागि यसअघि विश्वकप क्रिकेट लिग २ अन्तर्गत गएको फेब्रुअरीमा ओमान र अमेरिकाविरुद्ध टीममा समावेश सबै १४ खेलाडीलाई बोलाइएको छ। त्यस्तै त्यति वेला वैकल्पिक खेलाडीमा राखिएका पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतोलाई पनि प्रशिक्षणमा बोलाइएको छ।
शुरुमा टीम घोषणा हुँदा सुवासलाई वैकल्पिकमा राखिए पनि पछि शरद भेषवाकरले ओमानविरुद्धको पहिलो खेलमै चोट बोकेपछि उनले मौका पाएका थिए। उक्त प्रतियोगिताबाट कमलसिंह ऐरी, अविनाश बोहोरा र कुशल मल्लले राष्ट्रिय टीमबाट ओडीआईमा डेब्यु गरेका थिए। कमलसिंह ऐरीको भने राष्ट्रिय टीमबाटै पहिलो खेल थियो। तर, प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
पारिवारिक कारणले उक्त प्रतियोगिता नखेलेका वसन्त रेग्मी र चोट बोकेपछि टीमबाहिर रहेका सोमपाल कामी पनि प्रशिक्षणमा सहभागी हुनेछन्। सेन्ट्रल कन्ट्रयाक्टमा नरहेका भुवन कार्की र किशोर महतोलाई पनि प्रशिक्षणमा बोलाइएको छ।
प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई नै दिइएको छ। यसअघि उमेश पटुवालले राजीनामा दिएपछि नेपाली टीमलाई उनले नै हेरिरहेका थिए। तर, क्यानले मंसीर दोस्रो साता नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने जनाइसकेको छ। त्यसका लागि १२ जनाको अन्तरवार्ता पनि भइसकेको छ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, शरद भेषावकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की