डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको छ। ४२ वर्षीय ट्रम्प जुनियर अहिले उनकै क्याबिनमा क्वारेन्टिनमा छन्।
उनका प्रवक्ताले जारी गरेको बयान अनुसार उनलाई कुनै लक्षण देखिएको छैन। उनले कोभिड प्रोटोकलका सबै नियम पालना गरिरहेको पनि जनाइएको छ। उनी कोरोनाबाट संक्रमित हुने राष्ट्रपति ट्रम्पका दोस्रा सन्तान हुन्। यसअघि गएको महिना १४ वर्षीय बारोन ट्रम्प संक्रमित भएका थिए।
ट्रम्पकी ‘पार्टनर’ किम्बर्ली गिलफायललाई भने संक्रमण देखिएको छैन। फक्स न्यूजको पूर्व एंकर रहेकी गिलफायल गएको जुलाईमा संक्रमित भएकी थिइन्। त्यति वेला ट्रम्प जुनियरलाई संक्रमण भएको थिएन।
गएको शुक्रबार राष्ट्रपति ट्रम्पका विशेष सहायक एन्ड्रयू ज्युलियानीले पनि आफू संक्रमित भएको बताएका थिए। ज्युलियानी ट्रम्पका व्यक्तिगत अधिवक्ता रुडी ज्युलियानीका छोरा हुन्। उनलाई संक्रमणको सामान्य लक्षण देखिएको बताइएको छ।
सीबीसी न्यूजका अनुसार व्हाइट हाउसमा कम्तीमा चार जना संक्रमित छन्। यो महीना नै व्हाइट हाउसका चिफ आफ स्टाफ कार्क मिडोज पनि संक्रमित भएका थिए। राष्ट्रपति ट्रम्प आफैँ गएको अक्टुबर पहिलो साता संक्रमित भएर तीन दिन अस्पताल बसेका थिए।
-बीबीसीबाट