मानवतावादी पत्रकारको दुर्लभ देश–दर्शन
नेपाली पत्रकारिताका सशक्त हस्ताक्षर हुन् भैरव रिसाल। पत्रकारहरूका माझमा सतिसालझैं उभिएका रिसाल कैयौं ऐतिहासिक घटनाका साक्षी तथा पर्यवेक्षक पनि हुन्। आफ्नो पहिचान कायम राख्न समर्थ उनी नेपालका जेठा पत्रकार हुन्।
यस आलेखमा उनै रिसालको पछिल्लो कृति उहिलेको नेपाल ः भोगेको, देखेको र सुनेको पुस्तकको संक्षिप्त परिचर्चा गर्न खोजिएको छ।
बुकहिल पब्लिकेसनबाट २०७६ सालमा प्रकाशित प्रस्तुत पुस्तकमा विभिन्न शीर्षकसँग आबद्ध ५५ वटा टुक्रे लेख संगृहीत छन्। पुस्तकमा भएका केही (१२ देखि १५ सम्म) लेखहरू सुनेको आधारमा टिपोट गरिएका हुन् भने अधिकांश भोगेका र देखेका घटनासँग सम्बन्धित छन्। यी लेखहरूबाट तत्कालीन राजनीति तथा सामाजिक एवम् आर्थिक परिवेश बुझ्न र जान्न सकिन्छ। यस अर्थमा भन्ने हो भने सबै लेखहरू इतिहासका अनुसन्धाताका लागि असल खुराक अर्थात् स्रोत पनि हुन्।
नेपालको इतिहासमा सर्वाधिक चर्चित पात्रको नाम हो, जंगबहादुर राणा। उनीबारे प्रशस्त लेखिएका पनि छन्। तीमध्ये अधिकांशमा जंगबहादुर षड्यन्त्रकारी, विषयलम्पट, जहानियाँ शासनका सूत्रधार जस्ता नकारात्मक टिप्पणी गरिएको पाइन्छ। तर, लेखकले आफूले सुनेका र पढेका आधारमा जंगबहादुरका राम्रा कार्यहरूको उल्लेख गरेका छन्। कौसी तोसाखानाको स्थापना, मुलुकी ऐनको तर्जुमा, अङ्ग्रेज आवासीय दूतसँग सुमधुर सम्बन्ध आदि राम्रा कामको समीक्षा यस पुस्तकमा गरिएको छ।
यसैगरी चन्द्रशमशेरका पालामा स्थापना भएको चारखाल अड्डा, डिल्लीबजारको नामकरण र कुमारीचोक अड्डाको कार्यसम्बन्धी विशेष वर्णन पुस्तकमा पाइन्छ। कुमारीचोक अड्डाको प्रभावकारिताका कारण राष्ट्रिय आयव्ययमा कर्मचारीहरूको सतर्कता, हिसाब नबुझाउँदा हुने दण्डको विवेचना पुस्तकमा सविस्तार आएका छन्। हालको बेरुजुको भयावह स्थिति हेर्दा राणाकाललाई सबै कुरामा सत्तोसराप गर्न मिल्छ कि मिल्दैन, सोच्नुपर्ने भएको छ।
तत्कालीन अवस्थामा कुमारीचोक अड्डाकै कारणबाट भ्रष्टाचारमा कमी आएको थियो। राणाकालमा श्री ५ तथा श्री ३ हरूले राष्ट्रको ढुकुटीबाट पारदर्शी रूपमा नै चाहे जति रकम झिक्थे, लिन्थे। तर, लुकाएर होइन। यी दृष्टान्तबाट वर्तमानमा भन्दा विगतमा नै पारदर्शी हिसाबकिताबको व्यवस्था थियो भन्ने कुरा ज्ञात हुन्छ। अहिलेको जस्तो भ्रष्टाचारको होहल्ला त्यतिबेला थिएन। अब त आजका भन्दा हिजोका दिन राम्रा थिए भन्ने टिप्पणी समेत सुन्न थालिएकै छ।
देवशमशेरले गोरखापत्रको प्रकाशन गरेपछि हाम्रा तारिफका कुरा नछाप्नु भन्ने आदेश दिएका थिए भन्ने कुरा उल्लेख गरेर लेखकले हालका शासकहरूमा तारिफ सुन्ने मोहमा भएको वृद्धिप्रति तीव्र व्यङ्ग्य गरेका छन्। गोरखापत्र नै कालान्तरमा समकालीन शासकहरूको प्रशंसापत्र हुनपुगेको थियो। देवशमशेर पछिका एकाध शासकलाई छोडेर हालसम्म पनि आफ्नो तारिफ गर्ने वा स्तुति गर्नेलाई नै प्रिय ठान्ने परम्परा रहेको छ। इतिहासबाट पाठ लिने चाहना कसैमा पनि देखिएन।
राजा महेन्द्र र बीपीको सम्बन्धको चर्चा भएका, देखेका र सुनेका घटनाहरूको वर्णन बडो रोचक छन्। वास्तवमा यी दुवै महत्वाकाङ्क्षी भएकै कारण व्यक्तित्वमा टकराव आएको हो। बीपी र वीरेन्द्र, महेन्द्र र गिरिजाप्रसादको रसायन खूब मिल्ने चर्चा पनि यदाकदा हुने गर्दछ।
हाम्रा पुर्खाहरू प्रतिभाशाली भएका धेरै दृष्टान्त पाइन्छन्। विमानु पण्डित, गेहेन्द्रशमशेर जस्ता वैज्ञानिक नेपालमै जन्मिएका थिए। तर, त्यस्ता प्रतिभाको कदर नहुँदा अन्यले समेत प्रोत्साहन पाउन सकेनन्। एवम् तरह हेटौंडा समीपको चुरियामा सुरुङ खन्ने र चन्द्र नहरको निर्माण गर्ने जस्ता प्रशंसनीय कार्य राणाकालमै भएका थिए। राणाकालमा केही भएको थिएन भनी आलोचना गरेर नथाक्नेहरूलाई यस पुस्तकले गज्जबको दनक दिएको छ।
‘चिठीमा आधा नोट’ शीर्षक लेखले त त्यस जमानामा पैसा पठाउने चलनको सम्झना गराउँछ। देवशमशेरले मसुरीबाट चन्द्रशमशेरलाई एक हजारको आधा नोट तिहारमा जुवामा च्याँखे थाप्न पठाएको पत्र पढ्दा पंक्तिकारलाई सारै अचम्म लागेको थियो। सो कुराको रहस्य आज आएर रिसालले छर्लङ्ग बनाइदिएका छन्।
राजा महेन्द्र र बीपीको सम्बन्धको चर्चा भएका, देखेका र सुनेका घटनाहरूको वर्णन बडो रोचक छन्। वास्तवमा यी दुवै महत्वाकाङ्क्षी भएकै कारण व्यक्तित्वमा टकराव आएको हो। बीपी र वीरेन्द्र, महेन्द्र र गिरिजाप्रसादको रसायन खूब मिल्ने चर्चा पनि यदाकदा हुने गर्दछ। महेन्द्रलाई जति दूरद्रष्टा भने पनि २०१५ सालको निर्वाचनमा कांग्रेसले त्यति स्थान ल्याउने कुरामा उनलाई विश्वास थिएन। लेखकको यो भनाइ सत्य देखिन्छ।
रिसालले पुस्तकमा पत्रकारका पीडा, मर्म, चुनौती एवम् पत्रकारप्रति सरकार र जनमानसको दृष्टिकोणको यथार्थ चित्रण गरेका छन्। आफ्नो प्रचारप्रसार र प्रशंसा गराउने तत्कालीन राजनीतिज्ञहरूको चाहना ‘३०० अक्षरको पत्रकारिता’, ‘जस्तो छ त्यस्तै दिनु’, ‘बीपीको समाचार बनाउँदा’, ‘तपाईंलाई राजा कस्तो लाग्छ’ जस्ता लेखबाट प्रष्ट हुन्छ। दरबारको आडमा कसैले पनि फुर्ती लगाउन नहुने तर्क ‘बुझ्नै नसकिने दरबारको चिठी’ र ‘केशरबहादुरको करामत’ जस्ता लेखबाट प्रष्ट हुन्छ।
लोकदर्शन महेन्द्रका प्रिय पात्र थिए। यति हुँदाहुँदै पनि दरबार प्रवेशमा रोक लगाइएको, केशरबहादुरले दिंदै नदिएको राजीनामा स्वीकृत भएको लगायतका घटनाबाट तत्कालीन दरबारिया राजनीतिको बोध हुन्छ।
सूर्यबहादुर थापाले पञ्चायतलाई जिताउन गरेको कदमबाट आफ्नो स्वार्थका लागि कसरी राष्ट्रघात हुन पुगेको थियो भन्ने देखिन्छ। हुन त नेपालको इतिहासमा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि राष्ट्रिय स्वार्थलाई आहुति दिएका धेरै घटना छन्। र, आज पनि यस प्रवृत्तिबाट मुलुक अछुतो छैन।
जेल बसाइको १० महीना शीर्षकको लेखमा त्यसबेलाको जेल व्यवस्थापन, जेल प्रशासन, कैदीप्रतिको व्यवहार, जेलभित्रको संसारको सुन्दर वर्णन गरिएको छ। रिसालले जेल जानुपरेको कारणलाई हेर्दा अहिले अरू क्षेत्रमा जे जस्तो भए तापनि आज पत्रकारिताले पाएको स्वतन्त्रतालाई उल्लेख्य मान्नै पर्छ।
सङ्क्षेपमा भन्ने हो भने यी टुक्रे लेखहरूले पाठकको मन छप्पकै छोप्छन्। पुस्तकले थुप्रै अमूल्य सूचना भावी पुस्ताका लागि प्रवाह गरेको छ। हिजोका दिनहरूको वस्तुनिष्ठ मूल्याङ्कन, पत्रकारहरूको सकस, दरबारी सनक, जंगबहादुरकालदेखि हालसम्मको राजनीति, हराउँदै गएका चालचलन आदि विषयमा धेरै कुरा ज्ञात गर्न सकिन्छ।
लिपुलेक नेपालकै भएको प्रमाण नै रिसाल स्वयम् हुन्। यो तथ्य लिपुलेक हाम्रै हो भन्ने लेखबाट प्रमाणित हुन्छ। साक्षात् प्रमाण हुँदाहुँदै पनि नेपालकै भूमिलाई भारतले दाबा गर्दा नेपालीहरूको मन रुन्छ।
हुम्लाको उज्यालो अभियान शीर्षक लेखले नेपालीहरूले नै धेरै विकासका योजनाहरू सफल बनाउँछन् भन्ने उदाहरण देखाएको छ।
सङ्क्षेपमा भन्ने हो भने यी टुक्रे लेखहरूले पाठकको मन छप्पकै छोप्छन्। पुस्तकले थुप्रै अमूल्य सूचना भावी पुस्ताका लागि प्रवाह गरेको छ। हिजोका दिनहरूको वस्तुनिष्ठ मूल्याङ्कन, पत्रकारहरूको सकस, दरबारी सनक, जंगबहादुरकालदेखि हालसम्मको राजनीति, हराउँदै गएका चालचलन आदि विषयमा धेरै कुरा ज्ञात गर्न सकिन्छ। अधिकांश लेखहरू सूत्रात्मक स्वरूपमा लेखिंदा कतैकतै विषयवस्तु बुझ्न कठिन पनि परेको प्रतीत हुन्छ।
ज्ञान, दर्शन, चेतना, स्वाभिमानले उच्च द्रष्टा रिसाल मानवताका हिमायती भएको तथ्य उनका लेखहरूले स्थापित गरेका छन्। यस्ता जिउँदा इतिहासप्रति अमूल्य कृति प्रकाशन गरेकोमा हार्दिक बधाई !