स्विमिङ पुलमा छठ [तस्वीरहरू]
कोरोना महामारीका कारण सरकारले यसअघिका वर्षहरू जस्तै छठ पर्व मनाउन नदी किनारमा भीडभाड गरेर संक्रमणको जोखिम नबढाउन अनुरोध गरेपछि भक्तजनहरूले स्विमिङ पुलमा गएर समेत अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।
आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्र दिएर मनाइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो। भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुने गर्दछ।
उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ दिन नदी किनारमा जाने गर्छन्। आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ। बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोली उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समापन गरिन्छ।
छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ। छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ। यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने प्रचलन रहेको छ। षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौँको संख्यामा सहभागि भक्तजनहरूले अस्पताउदो सूर्यलाई अर्घ दिएका छन्। यो वर्ष कोरोना भाइरस (कोभिड—१९) का कारण ठूलो संख्यामा मान्छेहरू भेला नहुन सरकारले आग्रह गरेको थियो। जसका कारण सबै भक्तजनहरू यो वर्ष नदीसम्म पुग्न पाएनन्। केही भने नदीको सट्टामा स्विमिङ पुलमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्।
तस्वीरहरू: