१८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित, २० मंसिरसम्म पूरा नभए फोहोर फाल्न नदिने
विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन्। शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग २० मंसिरसम्म पूरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरू आन्दोलित भएका हुन्।
वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरूको माग छ। जग्गा अधिग्रहण राजनीतिक दलका सिमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टी गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ।
स्थानीय दिनेश कार्कीले बञ्चरे डाँडामा ल्याण्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहेपनि आफ्ना मागहरू पुरा नभएसम्म फाल्न नदिने बताए। जनताको न्यूनतम मागहरूसमेत पूरा नगरी फोहोर फाल्ने तयारी भएपछि आफूहरू आन्दोलित भएको उनको भनाइ छ।
यातायात, शिक्षा, स्वास्थ्य, पशुबीमा, बालिबीमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाबकिताब गर्नुपर्ने, ८० शैयाको अस्पताल तत्काल निर्माण गर्नुपर्ने माग उनीहरूको छ। वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपंक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने स्थानीयहरूको भनाइ छ। अर्का स्थानीय रामचन्द्र ढुंगानाले जनताले अहिलेसम्म काठमाडौंको फोहोर मात्रै खाएको बताए। स्थानीयहरूको व्यवस्थापन नहुँदासम्म फोहोर फाल्न नदिने उनको भनाइ छ।
स्थानीयले फोहोरबाट निस्कने लिचड पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन्। २० मंसिरसम्म आफ्ना माग पूरा गर्न अल्टिमेटम दिँदै स्थानीयहरूले मानव बसोबासरहित फोहोरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन्। फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेण्टी गनुपर्ने उनीहरूको माग छ।
ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घनश्याम बजगाईले फोहोरमा राजनीति नगर्न आग्रह गरे। काठमाडौं महानगरले आफूहरूमाथि मानविय व्यवहार नगरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।
बागमती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताए। फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहार सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ। स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन्।