हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाका कारण मृत्यु
होटल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणको कारण निधन भएको छ।
हानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाल सरकारबाट विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रदान गर्ने “प्रवल जनसेवा श्री चतुर्थ” बाट समेत विभूषित शाक्यको शुक्रबार बिहान ७२ वर्षको उमेरमा निधन भएको हो।
२४ वर्षभन्दा बढी होटल संघ नेपालमा सक्रिय भई अतुलनीय योगदान पुर्याएका स्वर्गीय शाक्य यस क्षेत्रमा स्वस्थापित एक कुशल व्यवस्थापक, सरल तथा
मिजासिला व्यक्ति हुनुको साथै हस्पिटालिटी उद्योगको स्तरउन्नति र समग्र पर्यटन प्रबर्द्धनमा एक सक्रिय अभियन्ता रहेको हानका अध्यक्ष सिर्जना राणाले बताएकी छन्।
होटल क्षेत्रमा रोजगारदाता र श्रमिकको बीच एकता र सह–सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण कायम राख्न शाक्यको महत्वपूर्ण भूमिका उल्लेख्य रहेको हानले उल्लेख गरेको छ।
शाक्यका श्रीमती र दुई छोरा छन्। उनको जेठो छोरा काठमाडौं मोडल हस्पिटलका डाक्टर हुने भने कान्छो छोराले सोल्टीमोडमा रहेको अमर होटलको व्यवस्थापन जिम्मा लिएका छन्। शाक्यका श्रीमती र दुई छोराहरू छन्।