स्वास्थ्य मापदण्ड लागू गराउन दिल्लीमा कडा नियम, मास्क नलगाउनेलाई २००० जरिवाना
भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँ दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागू गरिएको छ। पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागी हुन पाउने गरि नियम लगाइएको हो।
भारतको राजधानी समेत रहेको दिल्लीमा कोभिड—१९ को तेस्रो लहर चलेको छ। संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई रू. २ हजार जरिवाना लगाउने निर्णय गरेको हो। दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलसँग भेट गरि मास्क नलगाउने व्यक्तिलाई २ हजार जरिवाना लगाउने निर्णय सरकारले गरेको बताए।
दिल्ली सरकारले कोरोना महामारी बढेपछि बढी भीडभाड हुने बजारहरूमा बन्दाबन्दी गर्ने प्रस्ताव पहिल्यै नै गरिसकेको छ। सार्वजनिक क्षेत्रमा छठ पर्व मनाउन पनि रोक लगाइएको छ।
त्यसैगरी, वैवाहिक समारोहमा यसअघि २०० जनाको भेलालाई अनुमति दिइएकोमा अब भने ५० जना मात्र सहभागी हुन पाइने भएको छ।
दुई हप्ताको अवधिमा दिल्लीमा १ हजार २०२ जना संक्रमितको मृत्यु भएको छ। दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या ५ लाख ३ हजार ८४ पुगेको छ। अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९४३ पुगेको छ।