नेवानिको हङकङ उडानमा अब सरकारी प्रयोगशालाको पीसीआर रिपोर्टले मात्र मान्यता पाउने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हङकङ उडानमा सरकारी प्रयोशालाको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको छ। निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलका अनुसार तीन पटकसम्म उडान प्रतिबन्ध लागेपछि यात्रुको कोरोना रिपोर्टमा कडाई गरिएको हो। हङकङ उडान अब पाँच दिन पछि खुल्दैछ।
अब यो गन्तव्यमा उड्ने यात्रुले अनिवार्य रूपमा सरकारी प्रयोगशालामा परीक्षण गरेको ७२ घण्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ। निजी प्रयोगशालाको रिपोर्टबाट निगम हैरान भएको र निगमको शाखमै असर पर्नेगरी उडान प्रतिबन्ध लागेकोले सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिन बाध्य भएको निगमले जानकारी दिएको छ।
निगमको उडान अहिलेसम्म तीन पटक प्रतिबन्ध लागिसकोको छ। निगमबाहेक अन्य ११ वटा वायुसेवालाई पनि यताबाट कोरोना नेगेटिभ भनेर लगिएका यात्रुमा हङकङमा परीक्षण गर्दा कोरोना देखिएपछि उसले उडानमा प्रतिबन्ध लगाएको थियो।
तीन पटकसम्म प्रतिबन्ध लाग्नेमा निगमबाहेक भारतीय वायुसेवा इन्डियन एअर र विस्तारा पनि परेका छन्। अन्य गन्तव्य जापानको नारिता र दुबइको हकमा भने सचेतना अपनाउन भनेको र उडानै प्रतिबन्ध नलागेकोले यी गन्तव्यको उडानमा भने निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिइरहेको निगमको भनाइ छ।