सहुलियतमा मल उपलब्ध गराउन सुदूरपश्चिममा साल्ट ट्रेडिङलाई अनुदान
सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीलाई अनुदान दिने भएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको उपस्थितिमा मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव किसनलाल भट्ट र कर्पोरेसनका धनगढीस्थित कार्यालयका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेबीच सहुलियत मूल्यमा मल बिक्री गर्ने सम्बन्धी सम्झौता आदानप्रदान भएको थियो।
सुदूरपश्चिम सरकारले कार्पोरेसनलाई रू. एक करोड बजेट उपलब्ध गराउने सम्झौता भएपछि कर्पोरेसनले बिक्री गर्दै आएको एमोनियम फस्फेट र सिंगल सुपर फस्फेट रासायनिक मल तोकेको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री गर्नुपर्नेछ।
खेती गर्ने समयमा रासायनिक मल अभावको समस्या खेप्दै आएका किसानलाई सहुलियत मूल्यमा मलको व्यवस्था गरी राहत दिन प्रदेश सरकारले पहिलो पटक यो बजेट उपलब्ध गराउने भएको हो।
कर्पोरेसनले डीएपी र युरिया मलका अलावा युरिया मलको विकल्पमा प्रयोग गर्न सकिने एमोनियम सल्फेट र डिएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिंगल सुपर फस्फेट मलसमेत बिक्री गर्दै आएको छ।
तर, नेपाल सरकारले डीएपी र युरिया मलमा अनुदान दिएपनि एमोनियम फस्फेट र सिंगल सुपर फस्फेटमा अनुदान दिएको छैन। जसका कारण डीएपी र युरिया मलको तुलनामा यो मलको मूल्य केही महंगो भएको कार्पोरेसनले जनाएको छ।
कर्पोरेसनका नायव महाप्रबन्धक पाण्डेले किसानलाई सहुलियत मूल्यमा मल उपलब्ध गराई राहत दिन प्रदेश सरकारले ऐतिहासिक काम गरेको बताए। उनका अनुसार अब प्रदेशमा मल अभाव हुँदैन।
सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट एक हजार, बोरोन मिश्रण भएको सिंगल सुपर फस्फेट ९३० र जिङ मिश्रण भएको सिंगल सुपर फस्फेट रू. ९०० बिक्री मूल्य निर्धारण गरिएको छ।
कर्पोरेसनले अहिलेसम्म ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट एक हजार ४२६, बोरोन मिश्रण भएको सिंगल सुपर फस्फेट एक हजार १६६ र जिङ मिश्रण भएको सिंगलसुपर फस्फेट एक हजार १४६ रूपैयाँमा अधिकृत बिक्रेतामार्फत् बिक्री गर्दै आएको छ।