मध्यम तथा लामो दूरीका यातायातको नियमन अब अनलाइनबाटै
मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ।
यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकुल बनाउने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटीएमएस लागू गरिएको हो।
सरकारले कोरोनाको जोखिम न्यूनिकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद बिक्री निर्देशिका लागू गरिसकेको छ।
अनलाइन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले सावजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्ने सन्दर्भमा मन्त्रालय कानून निर्माणमा लागिरहेको बताए।
उनले एकीकृत प्रकृया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको कल्पना गरिएको समेत बताए।
ओटीएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरूले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायहरूलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।
ओटिएमएसले लगानिकर्ताहरूको सञ्चालन खर्च घटाई मुनाफा बृद्धि गराउनुका साथै टिकट खरिद बिक्री प्रकृयामा विचौलियाहरूलाई पूर्ण रूपमा निषेध गर्ने विश्वास लिइएको छ।