झापाको गोलधापमा सनराइज ब्यांकको शाखारहित ब्यांकिङ सेवा शुरू
सनराइज ब्यांक लिमिटेडले झापाको अर्जुनधारा नगरपालिका–९, गोलधापमा शाखारहित ब्यांकिङ सेवाको शुरूआत गरेको छ। योसहित ब्यांकको शाखारहित ब्यांकिङ सेवा संख्या ५३ पुगेको छ।
गोलधापमा खोलेको शाखारहित ब्यांकिङ सेवाको प्रतिनिधिका रूपमा सुमन राईलाई नियुक्त गरिएको छ। ४ मंसिरमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना मगर र ब्यांकको प्रदेश–१ का प्रमुख विवेककुमार निरौलाले संयुक्त रूपमा शाखारहित ब्यांकिङ सेवाका प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे।
ब्यांकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित ब्यांकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने ब्यांकले जनाएको छ।
यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरू लिन सकिने जनाइएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा ब्यांकिङ पहुँच बढाउने उद्देश्यका साथ ब्यांकिङ सेवा शुरू गरेको ब्यांकले जनाएको छ।
हालसम्म सन्राइज ब्यांकले १३९ वटा शाखा, ५३ वटा शाखारहित ब्यांकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै, ब्यांकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि ब्यांकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।