जीवा लामिछानेको ‘देश देशावर’ सार्वजनिक
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडिओमार्फत् बिहीबार पुस्तक सार्वजनिक गरिएको हो।
प्रकाशक फाइन प्रिन्टका अनुसार अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर। जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ।
लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौलाले बताए। “यो कृति अति सजिलो ढंगले लेखिएको छ। सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भूगोल पढ्छ”, उनले भने, “नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ।”
उद्योग व्यवसायमा विशेष रूचि राख्ने लामिछानेको यो कृति विषयको नवीनता, क्षेत्रको नवीनाता र पहुँचको नवीनताका दृष्टिबाट उदाहरणीय रहेको उनले बताए।
शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेको टिप्पणी छ। यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने उनको भनाइ छ।
“संसार घुम्न चाहनेहरूका लागि यो किताब पथप्रदर्शक हो”, उनले भने, “विकासप्रेमी एवम् राजनीतिज्ञहरूका लागि यसले आफ्नो देश बनाउन मार्गप्रशस्त पनि गर्छ।”
किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए।
“विश्व धेरै रङरूपले भरिपूर्ण छ। बहुआयामिक पनि छ”, उनले भने, “विभिन्न देश अनि, ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ।”
घुम्ने संस्कृति विकास हुँदै गरेको नेपालमा यो पुस्तकले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनले बताए। आफू जान नपाए पनि विभिन्न ठाउँबारे बुझ्न पनि यसले सघाउने उनको भनाइ छ।