मल अभावकै बीच पनि धान उत्पादन बढेको कृषि मन्त्रालयको प्रारम्भिक अनुमान
यो वर्ष धानको रोपाई गरेपछि किसानले त्यसमा हाल्ने पुग्दो रासायनिक मल पाएनन्। महीनौंसम्म किसानले मल नपाएका कथा व्यथा सार्वजनिक भइरहे। रासायनिक मलको चरम अभावका बीच पनि यो वर्ष देशको प्रमुख कृषि बाली धानको उत्पादन भने बढेको कृषि मन्त्रालयले प्रारम्भिक आकलन गरेको छ।
प्रदेश २ बाहेक अन्य प्रदेशहरुको धान उत्पादनको तथ्यांकका आधारमा यस्तो आकलन गरिएको हो।
देशभरिको धान उत्पादनको तथ्यांकको विश्लेषण गरिरहेको मन्त्रालयले गत वर्षको तुलनामा धान उत्पादन कम्तीमा १ प्रतिशत र बढीमा ५ प्रतिशतसम्मले बढेको हुनसक्ने प्रारम्भिक आकलन गरेको हो। गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान फलेको थियो। यो वर्ष ५६ लाख मेट्रिक टनभन्दा धेरै धान फलेको हुनसक्ने अनुमान गरिएको छ। आगामी सातासम्ममा धान उत्पादनको प्रारम्भिक तथ्यांक तयार हुनेछ।
धान उत्पादनको मुख्य क्षेत्र मानिएको प्रदेश २ को धान उत्पादनको अन्तिम तथ्यांक तयार नभइसकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
कृषि मन्त्रालयले प्रदेश कृषि मन्त्रालयअन्तर्गतका कृषि ज्ञान केन्द्रहरुले पठाएको तथ्यांकका आधारमा धान उत्पादनको अन्तिम तथ्यांक निकाल्छ। यस्तो तथ्यांक निकाल्दा देशभरिको रोपाईको तथ्यांक, स्याटेलाइट तस्वीर आदिलाई पनि आधारका रूपमा लिइन्छ।
प्रदेश १ मा गत वर्षको तुलनामा ५ प्रतिशत धेरै धान फलेको अनुमान गरिएको छ। गत वर्ष यो प्रदेशमा १२ लाख ४५ हजार मेट्रिक टन धान फलेको थियो। गत वर्ष १४ लाख २० हजार मेट्रिक टन धान फलेको प्रदेश २ मा भने धानको उत्पादन सामान्य घटेको हुनसक्ने अनुमान गरिएको छ। तर, अन्तिम तथ्यांक आउँदासम्म यो प्रदेशमा पनि धान उत्पादन बढेको देखियो भने धानको उत्पादनले यो वर्ष रेकर्ड कायम गर्नसक्छ।
आर्थिक वर्ष २०७५/७६ मा अहिलेसम्मकै धेरै ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
कृषि मन्त्रालयले प्रदेश कृषि मन्त्रालयअन्तर्गतका कृषि ज्ञान केन्द्रहरुले पठाएको तथ्यांकका आधारमा धान उत्पादनको अन्तिम तथ्यांक निकाल्छ। यस्तो तथ्यांक निकाल्दा देशभरिको रोपाईको तथ्यांक, स्याटेलाइट तस्वीर आदिलाई पनि आधारका रूपमा लिइन्छ। कृषि मन्त्रालयले तराईका २१ जिल्लाको धान रोपाईको क्षेत्रफलको अध्ययन गर्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) सँग सहकार्य गरेको छ।
यसबाहेक विभिन्न स्थानका किसानसँग टेलिफोनमार्फत सोधेर पनि तथ्यांकको परीक्षण गरिएको मन्त्रालयका एक अधिकारीले बताए। केन्द्रीय तथ्यांक विभागका प्रतिनिधिसमेत सदस्य रहने कृषि मन्त्रालयअन्तर्गतको प्राविधिक समितिले आगामी साता धान उत्पादनको तथ्यांक विश्लेषण गरी अन्तिम नजिता निकाल्ने छ।
धानको उत्पादन बढेको अनुमानका पछाडि अनुकुल मनसुनी वर्षा तथा बीऊको प्रतिस्थापन राम्रो रहनुलाई मुख्य कारण मानिएको छ। यो वर्ष मनसुनी वर्षा अनुकुल भएका कारण देशका अधिकांश स्थानमा समयमै धान रोपाई भएको थियो। “विगत २९ वर्षको औसत मनसुनी वर्षाभन्दा यो वर्ष १७ प्रतिशत बढी वर्षा भएको तथ्यांक देखिनुले धान उत्पादनमा सकारात्मक असर परेको हाम्रो आकलन छ,” मन्त्रालयका एक अधिकारीले भने।
कृषि विभागका अनुसार, यो वर्ष धान रोपाई हुने क्षेत्रफलमध्ये ९८.३८ प्रतिशतमा रोपाई भएको थियो। गत वर्ष ९४.४३ खेतमा मात्र रोपाई भएको थियो। गत वर्षको तुलनामा रोपाई समेत चाँडो सकिएको थियो। देशभर १३ लाख ७१ हजार क्षेत्रफल जमीनमा धान रोपाई हुन्छ।
कृषि विभागका अनुसार, यो वर्ष धान रोपाई हुने क्षेत्रफलमध्ये ९८.३८ प्रतिशतमा रोपाई भएको थियो। गत वर्ष ९४.४३ खेतमा मात्र रोपाई भएको थियो। गत वर्षको तुलनामा रोपाई समेत चाँडो सकिएको थियो। देशभर १३ लाख ७१ हजार क्षेत्रफल जमीनमा धान रोपाई हुन्छ। त्यसैगरी, उन्नत धानको बीऊबिजनका कारण पनि धान उत्पादन बढेको हुनसक्ने मन्त्रालयका ती अधिकारीको दाबी छ।
यो वर्ष रासायनिक मल अभावका कारण धानको उत्पादनमा व्यापक गिरावट आउने अनुमान गरिएको थियो। धान रोपाई हुने मुख्य मौसममा युरिया मलको देशभरि अभाव भएको थियो। तर, अनुमानअनुसार, देशभित्रको मल अभावको असर धान उत्पादनमा नदेखिएको नाम उल्लेख गर्न नचाहने मन्त्रालयका एक अधिकारीले बताए।
“तराईका किसानले भारतबाट महंगो मूल्यमा मल खरिद गरी ल्याएर भएपनि धानमा मल हालेकाले देशभित्रको मल अभावको असर धान उत्पादनमा खासै परेन,” उनले भने । देशभरिको धान उत्पादनको ७३ प्रतिशत उत्पादन तराई क्षेत्रमा हुन्छ।
कोरोना भाइरस संक्रमणको महामारीले आर्थिक क्रियाकलापलाई शिथिल बनाएका बेला धान उत्पादन बढ्दा त्यसले देशको समग्र अर्थतन्त्रलाई टेको दिन्छ। देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ। कुल कृषिको उत्पादनमध्ये धान एक्लैको योगदान करीब २१ प्रतिशत रहेको मानिन्छ। धान उत्पादन बढ्नुको अर्थ देशको कुल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्नु हो।