प्रहरीमा घटाइएको एआईजी र डीआईजीको दरबन्दी फेरि थपियो
नेपाल प्रहरीमा यसअघि घटाइएको अतिरिक्त महानिरीक्षक (एआईजी) र नायव महानरीक्षक (डीआईजी)को दरबन्दी थप भएको छ। सरकारले एक जना एआईजी र पाँच जना डीआईजीको दरबन्दी थप गरेको हो। दरबन्दी स्वीकृत भएको सम्बन्धी पत्र बिहीबार मन्त्रालयलाई प्राप्त भएको गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले बताए।
गृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरूप निर्धारण मन्त्रिपरिषद्मा पठाएकोमा सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो।
डीआईजीतर्फ थपिएको दरबन्दी जनपदतर्फको हो। यससँगै जनपदतर्फ नै डीआईजीको संख्या १९ पुगेको छ। प्राविधिकतर्फ भने ८ डीआईजी छन्। ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षक भएका बेला सरकारले गएको चैतमा २६ मध्ये १२ जना डीआईजीको दरबन्दी कटौती गरेर १४ मा झारेको थियो। यस्तै, त्यसअघि नै एआईजीको दरबन्दी पनि कटाैती गरेर ९ बाट ३ मा झारिएको थियो।
नयाँ दरबन्दी कायम भएसँगै अब प्रहरीमा रोकिएको बढुवा अगाडि बढाउने तयारीमा प्रहरी प्रधान कार्यालय जुटेको छ। थपिएको दरबन्दीमा एआईजी बढुवा हुने व्यक्ति नै भावी आईजीपी हुने भएकाले एआईजीमा कडा प्रतिष्पर्धा छ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल, सीआईबी प्रमुख सहकुलबहादुर थापा र प्रदेश–२ का प्रहरी प्रमुख धिरजप्रताप सिंह (डीआईजीत्रय) एआईजीका बलिया दाबेदार मानिएका छन्। पोखरेलले यसअघिको बढुवामा पर्न विभिन्न कोशिस गरेपनि अन्तिममा परेका थिएनन्।
निरज शाही, हरि पाल र प्रद्युम्न कार्की एआईजीमा बढुवा भएपछि रिक्त तीन र थपिएका पाँचसहित डीआईजीको आठ पदमा अब पदपुर्ति गरिनेछ।
एसएसपीहरू गणेश ऐर, पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा, रामकृपाल साह, सुशीलकुमार यादव, उमेश रञ्जित, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, मुकुन्द आचार्य, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ बढुवाको लाइनमा छन्। यीनै मध्येबाट आठ जनालाई डीआईजी बढुवा गरिनेछ।