शेयर बजारमा अहिलेसम्मकै धेरै कारोबार, बजार पूँजीकरण रू. २४ खर्ब नजिक
शेयर बजारको कारोबारमा अहिलेसम्मकै सर्वाधिक धेरै रकमको कारोबार भएको छ। बिहीबार शेयर बजारमा रू. ६ अर्ब ११ करोड ६७ लाखको कारोबार भएको हो। बुधबार रू. ३ अर्ब ४१ करोडको शेयर किनबेच भएको थियो।
शेयर कारोबार रकमसँगै परिसूचकमा पनि फराकिलो अंकको विस्तार भएको छ। नेप्से परिसूचक ३६ अंकले बढेर १ हजार ७७८ विन्दु पार गरेको छ। यो ऐतिहासिक उच्चतम विन्दुभन्दा करीब १०० अंक मात्रै थोरै हो। तिहारपछि बुधबार र बिहीबार गरी नेप्सेमा ६० अंकको वृद्धि आएको छ।
अहिलेसम्म नेप्सेको उच्चतम विन्दु १ हजार ८८१ हो। कारोबार शुरू हुनेबित्तिकै बढेको बजारलाई व्यापार, होटल, उत्पादन, बीमा लगायतका समूहले उचालेका थिए। ब्यांक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको तथा ब्याजदर सस्तो भएका कारण शेयर बजारमा लगातारको उत्साह देखिएको आकलन गरिएको छ।
बिहीबार युनिलिभर नेपाल, तारागाउँ होटल, हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल र विशाल बजार कम्पनीको शेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेका छन्।
कारोबार भएकामध्ये १३३ कम्पनीको मूल्य बढेको छ भने २३ को मूल्य घटेको छ। बिहीबार नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा धेरै रू. ४१ करोड ८ लाख बराबरको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २७ करोड बराबरको शेयर किनबेच भएको छ।
बजारको वृद्धिसँगै शेयर बजारको पूँजीकरण रू. २३ खर्ब ८२ अर्ब पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक धेरै हो।