कोरोना विरुद्धको खोप भित्र्याउने कानूनी बाटो खुल्यो, आपतकालीन प्रयोजनका लागि जुनसुकै औषधि प्रयोग गर्न सकिने
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार ‘औषधि (तेस्रो संशाेधन) अध्यादेश, २०७७’ जारी गरेकी छिन्। अध्यादेश जारी भएसँगै अब कोरोना विरुद्धको खोप भित्र्याउन र आपतकालीन प्रयोजनका लागि जुनसुकै खोप र औषधि प्रयोग गर्न सकिने भएको छ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। औषधि व्यवस्था विभागले औषधि ऐन संशाेधन गरेर मुलुकमा कोरोनाभाइरसको महामारी भइरहेका वेला आपतकालीन प्रयोजनका लागि खोप र औषधि प्रयोग गर्ने गरी अध्यादेशको मस्यौदा बनाएको थियो। उक्त मस्यौदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुुसार यसअघि आपतकालीन प्रयोजनका लागि औषधि तथा खोप प्रयोग गर्न सकिने व्यवस्था थिएन। केसीका अनुसार अध्यादेशले आपतकालीन प्रयोजनका लागि औषधि प्रयोग मात्र नभएर आयात गर्ने बाटो समेत खोलेको छ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका निर्देशक डा. रमेश खरेलले माघसम्ममा नेपालमा कोरोना विरुद्धको खोप भित्र्याउने तयारी भइरहेको बताए। अध्यादेशले खोप भित्र्याउने बाटो सहज बनाएको उनको भनाइ छ।
यसअघि आपतकालीन प्रयोजनका लागि नयाँ औषधि प्रयोग गर्ने सम्बन्धी व्यवस्था नभएकै कारण कोरोना संक्रमितको उपचारमा उपयोगी देखिएको रेमडिसिभिर औषधि भित्र्याउन र प्रयोग गर्न बाधा उत्पन्न भएको थियो। त्यहीकारण रेमडिसिभिरको कालोबजारी पनि भएको थियो भने बिरामीले समयमा औषधि नपाउँदा ज्यान जाने अवस्था समेत बन्यो।
तत्काल प्रयोगसम्बन्धी कानूनको अभावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा अनुसन्धान प्रयोजनको लागि मात्र रेमडिसिभिर प्रयोग गर्न अनुमति दिइएको थियो। रेमडिसिभिरसँगै कोरोनाको सामान्य लक्षण देखिएका र लक्षण नै नदेखिएका बिरामीमा प्रयोग गर्न उपयोगी देखिएको फाभिरपिराभिर औषधि पनि आपतकालीन प्रयोगसम्बन्धी कानूनको अभावमा प्रयोगमा आउन सकेको थिएन।
नेपाली औषधि कम्पनी देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको ६ महीनासम्म पनि यो औषधि प्रयोगमा आएन। अन्ततः नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गर्ने प्रयोजनका लागि मात्र गएको असोजमा प्रयोग अनुमति दियो।
अहिले फाभिरपिराभिरको ग्रान्डी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, गंगालाल अस्पताल, सशस्त्र प्रहरीको अस्पताल लगायतका अस्पतालमार्फत तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत प्रयोग भइरहेको छ। परीक्षणमा संलग्न चिकित्सकहरुका अनुसार यो औषधिले राम्रो नतिजा दिएको छ।
अब औषधि (तेस्रो संशाेधन) अध्यादेश, २०७७’ जारी भएसँगै अब विश्व स्वास्थ्य संगठन जस्ता अन्य विभिन्न नियामक निकायहरुले आपतकालीन प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिएका जुनसुकै औषधिलाई नेपालमा मापदण्डभित्र रहेर प्रयोग गर्न सकिने औषधि व्यवस्था विभागका सूचना अधिकारी केसी बताउँछन्।
पछिल्ला दिनहरुमा विभिन्न औषधि कम्पनीहरुले कोरोना विरुद्धको खोप बनाउन सफलता प्राप्त भएको विवरण सार्वजनिक भएका छन्। बुधवार खोप उत्पादक कम्पनी पिफाइजर र बायोनटेक एसई कम्पनीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले उत्पादन गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको जनाएका छन्।
उनीहरुले विज्ञप्तिमार्फत अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपतकालीन प्रयोगका लागि अनुमति दिन बनाएको मापदण्ड अनुसारको सबै सुरक्षा मापदण्ड पूरा भएको दाबी गरेका छन्। उत्पादक कम्पनीका अनुसार यो खोप सबै उमेर समूहलाई प्रयोग गर्न सकिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिलेसम्म १२ वटा खोपको तेस्रो अर्थात अन्तिम चरणको क्लिनिकल ट्रायल भइरहेको छ। यसबाहेक २५ वटा खोपको दोस्रो चरणको र २० वटा खोपको पहिलो चरणको क्लिनिकल ट्रायल भइरहेको छ।
यता नेपालमा गाभी नामक संस्थाले कोभ्याक्स नामक खोप मुलुकको जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्यका मन्त्रालयका अधिकारीहरुका अनुसार शुरुमा गाभीले तीन प्रतिशत मात्र भ्याक्सिन उपलब्ध गराउनेछ। गाभीले दिएको उक्त खोप शुरुमा फ्रन्टलाइनरहरुलाई दिइने मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार यसअघि मुलुकभित्रै खोप परीक्षण गर्न कानूनी समस्या भएकोमा अब त्यसका लागि समेत बाटो खुलेको छ। डा. ज्ञवाली भन्छन्, “अब सीधै मन्त्रिपरिषदबाट अनुमति लिएर खोप परीक्षण शुरु गर्न सकिन्छ।”