हुम्लामा अन्तरपालिका आवतजावतमा रोक, शैक्षिक संस्थाहरु पुनः बन्द
हुम्लामा कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि आजबाट अन्तरपालिका आवतजावतमा रोक लगाइएको छ। जिल्लाभरिका शैक्षिक संस्था पनि बन्द गरिएको छ।
उत्तरी हुम्लास्थित नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयका ५१ विद्यार्थीसहित अन्य स्थानीयलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यसलगत्तै सदरमुकाम सिमकोटमा बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले बिहीबारदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ। बाहिरबाट जिल्ला प्रवेशमा पनि रोक लगाउने निर्णय गरेको छ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ४ मङ्सिरदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ। लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ।
सम्बन्धित गाउँपालिकार्ले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गराउने भएका छन्। बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन् ।
नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ। उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठक बसेको थियो।
नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने जनाएको छ।
कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए। जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ।
हवाइमार्गबाट नेपालगञ्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्नका लागि सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर आगामी दिनमा सञ्चालन गरिने भएको छ। नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भएर सिमकोट पुगेका यात्रुले कोरोना सङ्क्रमण नभएको नक्कली रिर्पोट ल्याएको पाइएमा कोरोना सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए।