कोरोनाविरुद्धको कुन खोपको परीक्षण पहिला सफल हुन्छ ?
गएका दुई हप्तामा फाइजर बायोनटेक र मोडेर्ना दुवैले आफूले विकास गरिरहेको कोरोनाविरुद्धको खोपको परीक्षण धेरै हदसम्म सफल भएको घोषणा गरे। त्यसबाहेक विश्वका धेरै ठाउँमा खोप परीक्षण भइरहेको छ।
बेल्जियमको कम्पनी जोनसनले बेलायतमा गरिरहेको अनुसन्धान निकै महत्वपूर्ण भएको मानिएको छ। त्यस्तै बेलायतको अक्सोफोर्ड विश्वविद्यालयले औषधि निर्माण कम्पनी अस्ट्राजेनेकासँग मिलेर बनाएको खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ।
विश्वको जनजीवन सामान्य बनाउन खोप महत्वपूर्ण हुने विज्ञहरुको भनाइ छ। अहिले पनि ठूलो संख्यामा मानिसहरु कोरोनाभाइरसबाट संक्रमित भइरहेका छन्। जाडो मौसम शुरु भएपछि विश्वभरि संक्रमण बढेको छ। खोपले हाम्रो शरीरलाई कोरोनाभाइरससँग लड्न सिकाउन वा संक्रमण हुनबाट बचाउने बीबीसी हिन्दीले उल्लेख गरेको छ।
विश्वले नै खोप पर्खिरहेको अवस्थामा फाइजर बोयोनटेकले परीक्षण अन्तिम चरणमा पुगेको जनाएको छ। कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त खोप लगाएका ९० प्रतिशत मानिसलाई महामारीबाट बचाउन सक्छ। अहिलेसम्म ४३ हजार मानिसमा गरिएको परीक्षणमा सुरक्षाको कुनै चिन्ता नरहेको जनाइएको छ।
मोडेर्नाले विकास गरिरहेको खोप अमेरिकामा ३० हजारलाई परीक्षण गरिएको छ। जसमध्ये आधालाई ‘डमी खोप’ लगाइएको छ। कसलाई वास्तविक र कसलाई डमी खोप लगाइएको हो भन्ने जानकारी सम्बन्धित व्यक्तिलाई दिइएको छैन। यो खोपले ९४.५ प्रतिशत सुरक्षित गर्ने दाबी गरिएको छ।
अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले परीक्षण गरिरहेको खोपको नतिजा पनि अबका केही हप्तामा आउने जनाइएको छ। यो खोपको बेलायत, ब्राजिल लगायत देशमा परीक्षण भइरहेको छ।
उता रुसमा विकास भइरहेको ‘स्पुतनिक भी’ खोपको नतिजा पनि उत्साह बढाउने प्रकारको रहेको बताइएको छ। तेस्रो चरणमा परीक्षण भइरहेको यो खोप ९२ प्रतिशत सफल भएको रुसी अधिकारीको दाबी छ।
अरु कतिपय खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। जसमध्ये चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्स र साइनोफार्मा र रुसको मस्कोस्थित गेमालेया रिसर्च इन्स्टिच्युट अफ एपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीका परीक्षणलाई पनि महत्वपूर्ण मानिएको छ।
फाइजर बायोनटेकले यो वर्षको अन्त्यसम्ममा पाँच करोड खुराक र २०२१ को अन्त्यसम्ममा लगभग १३० करोड खुराक आपुर्ति गर्न सक्षम हुने जनाएको छ। बेलायतले तीन करोड खुराकको माग गरिसकेको छ।
अस्ट्राजेनेका र अक्सफोर्डले मात्र बेलायतमा १० करोड खुराक उपलब्ध गराउने जनाएका छन्। यो खोपको परीक्षण सफल भए विश्वभर २० करोड खुराक उपलब्ध गराइने जनाइएको छ।