निजी प्रयोगशालाको कोरोना रिपोर्टको छानबिन हुने, सरकारीलाई मात्रै मान्यता दिन निगमको आग्रह
विदेशमा हुने उडानमा यात्रा गर्ने यात्रुहरूको पीसीआर रिपोर्ट नेपालमा नेगेटिभ आउने र विदेश पुग्नेबित्तिकै परीक्षण गर्दा भने पोजिटिभ आएको विषयमा आवश्यक छानबिन गरी कारबाही हुने भएको छ।
पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार निजी प्रयोगशालाबाट कोरोना परीक्षण गराएर विदेशिएका यात्रुको नेपालबाट नेगेटिभ आउने र विदेश पुग्नेबित्तिकै हुने परीक्षणमा पोजेटिभ रिपोर्ट आउन थालेपछि यसको आवश्यक छानबिन गर्न लागिएको हो।
नेपाल वायुसेवा निगम (नेवानि) बाट विदेशिएका यात्रुमा यो समस्या बढेपछि हङकङले तेस्रो पटक उडानमा प्रतिवन्ध लगाएको छ। जापानको नारिता र संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा पनि यस्तै समस्या देखिएकोले आवश्यक छानबिन गर्न पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष औपचारिक रूपमै आग्रह गरिसकेको मन्त्रालयका प्रवक्ता भट्टराईले बताए।
निजी प्रयोगशालाले स्वाब संकलन नै नगरी नक्कली रिपोर्ट दिने, स्वाब संकलन पश्चात पनि रिपोर्ट हेरफेर गरी पोजिटिभ बनाउने, स्वाब कलेक्सनपछि निर्धारित समय भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेको र कोभिड १९ आरटी पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउनुपर्ने सहितका विषयमा छानबिन गर्न पर्यटन मन्त्रालयले आग्रह गरेको हो।
विदेश गएका यात्रुमा देखिएको निजी प्रयोगशालाको रिपोर्टमा भएको लापरबाहीमाथि कारबाही गर्न पनि पर्यटन मन्त्रालयको २८ कात्तिकको निर्णय अनुसार सीसीएमसी र स्वास्थ्य मन्त्रालयसमक्ष आग्रह गरिएको उल्लेख छ। पर्यटनम मन्त्रालयले वायुसेवा निगमले उपलब्ध गराएको निजी प्रयोगशालाबाट भएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको र विदेश पुग्ने बित्तिकै परीक्षण गर्दा पोजिटिभ आएका १३ जना यात्रुको रिपोर्टलाई समेत संलग्न गरेको छ। यस्तो रिपोर्टमा १० वटा स्टार हस्पिटलको, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थकेयर र ह्याम्स हस्पिटलको एकएक वटा रिपोर्टकाे केसलाई समावेश गरेर आवश्यक छानबिन गर्न आग्रह गरेको छ।
विदेश जाने यात्रुमा यस्तो समस्या देखिएपछि आवश्यक समाधानको उपाय अपनाउन पर्यटन मन्त्रालयले निगमलाई आग्रह गरेको र समाधानको उपायको विषयमा पनि जानकारी मागेको मन्त्रालयका प्रवक्ता भट्टराईले बताए।
वायुसेवा निगमकी प्रवक्त करिश्मा श्रेष्ठका अनुुसार समस्या पटकपटक दोहोरिएपछि र निगमको उडानको छविमै असर पर्ने भएकोले सरकारी संस्थाको रिपोर्टलाई मात्रै मान्यता दिन आग्रह गरेर पर्यटन मन्त्रालयसमक्ष पत्र पठाइएको छ। सरकारले गर्ने उचित निर्णयपछि निगमको उडानबाट बाहिरिने यात्रुले सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै आधार मान्ने वा नमान्ने भन्ने व्यवस्था हुन्छ।
निगमका अनुसार निजी प्रयोगशालाको रिपोर्टमा मात्रै समस्या देखिएकोले त्यसको रिपोर्टमा भर पर्दा निगमको हङकङ उडानमा तीन पटक प्रतिवन्ध लागेको छ। अहिले पनि १२ नोभेम्बरदेखि २५ नोभेम्बर २०२० सम्मलाई निगमको काठमाडौं हङकङ उडानमा प्रतिबन्ध लागेको छ। जापान र युएईले पनि सचेतपत्र पठाइरहेको निगमले जानकारी दिएको छ ।