शेयर बजारमा उत्साह कायमै, २३ अंकले बजार बढ्यो
तिहार विदापछि खुलेको शेयर बजारमा बुधबार फराकिलो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २३.३२ अंकले बढेर १ हजार ७४२ विन्दु पार गरेको छ।
वाणिज्य ब्यांक समूह घटेपनि उत्पादनमूलक, बीमा लगायतका समूहमा उत्साहजनक वृद्धि हुँदा बजारले छलाङ मारेको हो। पछिल्लो समयमा शेयर बजारमा उल्लेख्य वृद्धि भइरहेको छ।
बुधबार दिनभरिमा रू. ४ अर्ब ७९ करोड मूल्यका शेयर किनबेच भए। यो औसत कारोबारभन्दा धेरै हो। बुधबार ७२ कम्पनीको शेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्यो।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरी, गोर्खा फाइनान्स, विशाल बजार कम्पनी, बोटलर्स नेपाल, साल्ट ट्रेडिङ लगायतका कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ। बुधबार कयौं जलविद्युत कम्पनीको शेयर मूल्य घटेको छ। घलेम्दी जलविद्युतको शेयर मूल्य सबैभन्दा धेरै ५.८० प्रतिशतले घटेको छ।
सबैभन्दा धेरै व्यापार समूह ९.९८ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादनमूलक समूह ६.९४ र निर्जीवन बीमा समूह ४.५१ प्रतिशतले बढेका छन्। तर, ब्यांकिङ समूह भने ०.१ प्रतिशतले घट्यो। जलविद्युत १.२९ र विकास ब्यांक समूह पनि ०.९९ प्रतिशतले घटेका छन्।