नेकपा केन्द्रीय कमिटी बैठक सर्यो, १८ मंसिरमा स्थायी कमिटी बैठक बोलाइयो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ। १५ मंसिरलाई तय भएको केन्द्रीय कमिटीको बैठक २५ गतेलाई सार्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यसअघि तय केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरेको हो। यस्तै, केन्द्रीय कमिटीको बैठकअघि १८ मंसिरमा स्थायी कमिटी बैठक बोलाउने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताए।
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षको रस्साकस्सीपछि बुधबार सचिवालयको बैठक बसेको थियो। बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए। अध्यक्ष दाहालले मंगलबार राति राष्ट्रपति भण्डारीलाई भेटेका थिए।
अब सचिवालयको अर्को बैठक १३ मंसिरमा बस्नेछ। बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराएका छन्। यसअघि २८ कात्तिकमा बसेको सचिवालय बैठकमा दाहालले एक्लै राजनीतिक प्रस्ताव पेश गरेका थिए।
१३ मंसिरको बैठकमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गरी पार्टीभित्र देखिएको विवाद समाधानको प्रयत्न गरिने प्रवक्ता श्रेष्ठले बताए।