ओलीले पनि सचिवालयमा प्रस्ताव ल्याउने, अर्को बैठक १३ मंसिरमा बस्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सचिवालयमा आफ्नो तर्फबाट प्रस्ताव पेश गर्ने भएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उनले आफ्नो तर्फबाट पनि प्रस्ताव राख्ने जानकारी गराएका हुन्। उनले प्रस्वात भने पेश गरिसकेका छैनन्।
अब नेकपा सचिवालयको अर्को बैठक १३ मंसिरमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार १३ मंसिरको बैठकमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गरी पार्टीभित्र देखिएको समस्या समाधानको प्रयत्न गरिनेछ।
यसअघि २८ कात्तिकमा बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले एक्लै राजनीतिक प्रस्ताव र पत्र पेश गरेका थिए। जसले नेकपाभित्रको शक्ति संघर्ष झन् चुलिएको थियो। अब दुवै अध्यक्षको प्रस्तावमा अर्को बैठकमा छलफल गर्नेगरी आजको बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए।