कांग्रेस नेता महतको टिप्पणीः नेकपाको विवादले अहिलेको प्रणालीमाथि नै भ्रम पैदा गर्यो
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेसले टिप्पणी गरेको छ। निर्वाचित भएर आएकाहरूले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरणले महतले बताए।
सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजेपनि देश त्यो बाटोमा जान नसक्ने बताए।
‘‘प्रणालीको कुरा होइन। निर्वाचित भएर आएकाहरूले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो कि भन्ने परेको छ। तर, त्यो होइन”, कांग्रेस नेता महतले भने, “जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो। सरकारलाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलन्द गर्नुपर्छ। प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन्। त्यो बाटोमा देश जान सक्दैन।’’
उनले सरकार संवेदनशील नबनेका कारण कोरोना महामारी नियन्त्रण बाहिर गएको समेत बताए। महामारी विरुद्धको लडाईंमा सरकारले शुरूआती दिनदेखि आइसोलेसन निर्माण/व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरूमा बेडको व्यवस्था गरी अगाडि बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उनको टिप्पणी छ।
‘‘निर्वाचनमा गरेको वाचाविपरीत सरकारले काम गरिहरेको छ। सरकार संवेदनशील भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो। शुरूमा आइसोलेसन, क्वारेन्टिन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो वर्ष आउने थिएन। अहिले सरकार औषधि खरिद र राहत वितरणको रूपमा फाइदा उठाउने अभियानमा लागेको छ।’’
कांग्रेस सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्व सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताए। संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको उनको भनाइ छ।
‘‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ। यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरू देखिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओली जसरी भएपनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहाने नेताहरूले त्यो पुग्न गरिरहेको लडाईंले नेपाली जनता मारमा परेका छन्’’, महतको टिप्पणी छ।