नेकपा सचिवालय बैठक शुरू, प्रधानमन्त्री ओली पनि सहभागी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ। बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन्। बैठकमा सहभागी हुने/नहुने अन्योलबीच बालुवाटारमा भर्खरै शुरू भएको बैठकमा ओली उपस्थित भएका हुन्।
२८ कात्तिकको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र व्यक्तिगत पत्रपछि उत्पन्न घटनाक्रमले ओली बैठकमा सहभागी नहुने चर्चा चलेको थियो। यसलाई पुष्टि हुनेगरी ओली पक्षका सचिवालय सदस्य र अन्य नेताहरूले दाहालको प्रस्ताव फिर्ता नभए बैठक बस्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।
सचिवालय बैठक छल्न आजै दिउँसो १ बजे नै मन्त्रिपरिषद् बैठक बोलाएका ओली अन्ततः मन्त्रिपरिषद् बैठक १ घण्टा पछि सारेर सचिवालय बैठकमा उपस्थित भएका हुन्। सचिवालय बैठकअघि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केका थिए।
सचिवालय बैठकमा ओली–दाहाल।
यसअघि ओलीले दाहालको प्रस्ताव फिर्ता गराउन विभिन्न कोशिस गरेका थिए। महासचिव विष्णु पौडेललाई दाहाल निवास खुमलटार पठाएका उनले आफूले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग बालुवाटारमा छलफल गरेका थिए। तर, दुवै नेता आफ्नो ‘बटमलाइन’बाट पछि नहटेपछि ओली अफ्ठेरोमा परेका थिए।
यसबीचमा दोस्रो तहका नेता र सरकारका केही मन्त्रीले समेत पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षसँग छलफल गरेका थिए। नेताहरूसँगको छलफल र राष्ट्रपतिसँगको परामर्शपछि ओली सचिवालय बैठकमा बस्न तयार भएका हुन्। बैठकमा सचिवालयका ९ जनै सदस्य उपस्थित छन्।
दाहाल–नेपाल समूह ओली नआएपनि बालुवाटारमै पूर्वनिर्धारित समयमा बैठक गर्ने योजनामा थियो। त्यही अनुसार उनीहरूले तयारी पनि गरेका थिए।
फुटको संघारमा पुगेको भनिएको नेकपाका लागि बुधबारको सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ।