सुदूरपश्चिममा सवारी दुर्घटनाः एक महीनामा २८ जनाको मृत्यु
एक महीनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका सवारी दुर्घनामा परी २८ जनाले ज्यान गुमाएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार १ कात्तिकदेखि १ मंसिरसम्म ७० वटा सवारी दुर्घटना भएका छन्। यसमा २८ जनाको मृत्यु भएको छ भने ८० जना गम्भीर घाइते भएका छन्।
यी दुर्घटनामा २० जना पुरुष, ६ जना महिला र २ बालबालिकाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक बामदेव गौतमले बताए।
यो अवधिमा सबैभन्दा बढी कैलालीमा सवारी दुर्घटना भएको तथ्यांक छ। कैलालीमा मात्रै ४५ ओटा सवारी दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन्। त्यस्तै, सोही अवधिमा बझाङमा भने कुनै पनि सवारी दुर्घटना भएको छैन।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सोही अवधिमा ४२ ओटा मोटरसाइकल दुर्घटनामा परेका छन्।
तीव्र गति, थोत्रा तथा पुराना सवारी साधन र असक्षम चालकका कारण दुर्घटना बढेको बताउँदै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, गौतमले सवारी जाँच, सचेतना लगायतका कार्यलाई तीव्रता दिइएको बताए।