सचिवालय र मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। दिउँसो १ बजेलाई तय नेकपा सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।
यसअघि तय सचिवालय बैठककै समयमा मन्त्रिपरिषद् बोलाएका ओलीले राष्ट्रपतिसँग परामर्श थालेका हुन्। प्रधानमन्त्री शीतलनिवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले पुष्टि गरेको छ।
सचिवालयका बहुमत सदस्यले अघिल्लोपटक प्रधानमन्त्री समेत सहभागी बैठकले तय गरेको समयमै बैठक बस्नुपर्ने बताएपछि ओली नैतिक संकटमा परेका छन्। उनले मन्त्रिपरिषद् बैठक एक घण्टापछि सार्ने संकेत समेत गरेका छन्।
पछिल्लोपटक नेकपाको विवाद उत्कर्षमा पुगेको छ। विवाद चुलिएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गरेका थिए। मंगलबार बेलुका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिलाई भेटेका थिए। नेकपा बैठक तोकिएकै समयमा बस्ने उनले जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीपक्ष सकेसम्म आजको सचिवालय बैठक सार्ने पक्षमा छ। तर, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक तोकिएकै समयमा बस्ने बताएका छन्।
२८ कात्तिकको सचिवालय बैठकमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र व्यक्तिगत पत्रले ओलीपक्ष झस्किएको छ। दाहाललको प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललगायतका नेताहरूलाई दाहालनिवास खुमलटार पठाएका थिए भने नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामेदव गौतमलाई दाहालको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन आग्रह गरेका थिए। तर, यसमा ती नेताहरू सहमत भएनन्।