सचिवालयका लागि निर्धारित समयमा ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा पार्टी सचिवालय बैठक बोलाएकै समयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक सार्न अनेक प्रयत्न गर्दा पनि सफल नभएपछि ओलीले मंगलबार राति मन्त्रिपरिषद् बैठकको मिति तय गरेर आज बिहान मन्त्रीहरूलाई जानकारी गराउन निर्देशन दिएका छन्।
दाहाल पक्षले भने पूर्वनिर्धारित समयमा नै सचिवालय बैठक बस्ने जनाएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक तोकिएकै समयमा बस्ने बताएका छन्।
२८ कात्तिकमा बसेको नेकपा सचिवालय बैठकले आजका लागि अर्को बैठक तय गरेको थियो। २८ कात्तिकको बैठकमा प्रधानन्त्री ओली पनि सहभागी थिए। आफै सहभागी बैठकले गरेको निर्णय टार्न ओलीले यसबीचमा अनेक प्रयास गरेका थिए।
खासगरी उक्त बैठकमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र व्यक्तिगत पत्रले ओलीपक्ष झस्किएको छ। दाहालको प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललगायतका नेताहरूलाई दाहालनिवास खुमलटार पठाएका थिए भने नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामेदव गौतमलाई दाहालको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन आग्रह गरेका थिए।
तर, आफ्ना सबै प्रस्तावले काम नगरेपछि ओलीले बैठकको समय जुधाएको दाहाल–नेपाल समूहको आरोप छ।