विश्वकप फूटबलको दक्षिण अमेरिकी छनौटमा ब्राजिल र अर्जेन्टिना विजयी
विश्वकप फूटबलको दक्षिण अमेरिकी छनौट अन्तर्गत चौथो चरणका खेलमा ब्राजिल, अर्जेन्टिना, इक्वेडर र भेनेजुएला विजयी भएका छन्।
ब्राजिलले उरुग्वेलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेको छ। ब्राजिलका लागि अर्थर र रिचार्लिसनले गोल गरेका थिए। दुवै गोल पहिलो हाफमा नै भएका थिए। दोस्रो हाफको ७१औँ उरुग्वेका एडिन्सन काभानीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए।
अर्को खेलमा अर्जेन्टिनाले पनि पेरुलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेको छ। अर्जेन्टिनाका लागि १७औँ मिनेटमा निकोलास गोन्जालेज र २८औँ मिनेटमा लौटारो मार्टिनेजले गोल गरेका थिए।
इक्वेडरले भने घरेलु मैदानमा कोलम्बियालाई ६-१ गोलको विशाल अन्तरले पराजित गरेको छ। इक्वेडरका गोन्जाला प्लाटाले ८०औँ मिनेटमा रातो कार्ड पाएका थिए। त्यसपछि पनि ९०औँ मिनेटमा इक्वेडरले गोल थपेको थियो।
अरु खेलमा भेनेजुएलाले चिलीलाई २-१ ले पराजित गरेको छ भने पाराग्वे र बोलिभियाले २-२ गोलको बराबरी खेलका छन्। चौँथो चरणसम्म अपराजित रहेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ। त्यसपछि क्रमशः अर्जेन्टिनाको १०, इक्वेडरको नौ, पाराग्वेको ६ र उरुग्वेको पनि ६ अंक छ।