अमेरिकामा छुरा प्रहारको बदला लिन गोली चलाउने भुटानी मूलका तीन किशोर पक्राउ
अमेरिकास्थित पेन्सिल्भेनियाको डोउफिन काउन्टीमा साथीलाई छुरा प्रहार गरेको बदला लिन एक व्यक्तिमाथि गोली चलाएको आरोप लागेका भुटानी मूलका तीन किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्ण भण्डारी (१७), कपिल बस्नेत (१८) र सुजन तामाङ (१६) छन्। उनीहरुलाई हिरासतमा राखेर प्रहरीले बयान लिएको छ। पक्राउ पर्ने तीनै जना भुटानी शरणार्थी पुनर्वासका क्रममा नेपालबाट अमेरिका पुगेका हुन्।
गएको शुक्रबार एउटा धूम्रपान गर्ने पसलमा राति ९ बजे गोली चलेको थियो। अपरिचित समूहले गोली चलाएको खबर पाएपछि पुगेको प्रहरीले एक व्यक्तिको उद्धार गरेको थियो। उनको छातीमा गोली लागेको बताइएको छ। ती व्यक्तिको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ।
प्रहरीसँगको बयानमा पक्राउ परेकाहरुले आफ्नो साथीलाई छुरा हानेको बदला लिन ती व्यक्तिमाथि गोली चलाएको बयान दिएका छन्। ती किशोरका साथीमाथि केही दिनअघि छुरा प्रहार भएको थियो। उनीहरु कुटपिट गर्ने वा मार्ने उद्देश्यले छुरा गर्ने व्यक्तिलाई खोज्दै धूम्रपान पसल गएका थिए।
साथीलाई छुरा हान्ने व्यक्ति खोज्दै जाँदा उस्तै गाडी उक्त पसलबाहिर रोकेको देखेपछि उनीहरु त्यहाँ पुगे। अनि धूम्रपान गर्ने समूहसँग बहस शुरु गरे। गोली चलिरहेको समयको भिडिओ रेकर्ड नभए पनि भागदौड भएको देख्न सकिने त्यहाँको प्रहरीलाई उधृत गर्दै त्यहाँको सञ्चारमाध्यम फक्स४३ ले जनाएको छ।
त्यसपछि पुगेको प्रहरीले गोली लागेका २६ वर्षीय एक व्यक्तिलाई फेला पारेको थियो। ती व्यक्तिको आकस्मिक शल्यक्रिया गरिएको छ र स्वास्थ्य स्थिर रहेको जनाइएको छ।
अमेरिकालगायत युरोपियन देशहरुमा नेपालबाट करीब एक लाख १० हजार शरणार्थी पुनर्वासमार्फत गएका छन्। तीमध्ये करीब ८५ प्रतिशत भुटानी अमेरिका पुगेका छन्।