बांग्लादेशविरुद्ध जितको लक्ष्यसहित मैदानमा उत्रिँदै नेपाल, आज दोस्रो मैत्रीपूर्ण खेल
नेपाली राष्ट्रिय फुटबल टीम बांग्लादेशविरुद्ध जितको लक्ष्यसहित मंगलबार मैदानमा उत्रिँदैछ। मंगलबार दोस्रो मैत्रीपूर्ण खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे शुरू हुनेछ।
ढाकास्थित बंगबन्धु रंगशालामा हुने ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत दोस्रो मैत्रीपूर्णमा खेलमा नेपाल अघिल्लो हारको बदला लिने दाउमा हुनेछ। गएको शुक्रबार (२८ कात्तिकमा) भएको खेलमा नेपाल बांग्लादेशसँग २–० गोलले पराजित भएको थियो।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन्। नेपालले आफ्नो अन्तिम खेलका लागि सोमबार शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षणमा समेत गरेको थियो। टोलीका मुख्य प्रशिक्षक महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै तयारी थालिएको बताए।
पहिलो खेलमा भएका कमिकमजोरीहरूलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरू रहेको उनले बताए। कोभिडका कारण अभ्यासमा पर्याप्त समय नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको महर्जनले बताए। मंगलबारको खेलमा पहिलो खेलमा देखिएको कमजोरीलाई सच्याउने पनि उनको प्रतिवद्धता छ।
खेलाडीहरू पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन्। टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरूको भनाइ छ। शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो। कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एशियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ।
सबै अवे र एक होम खेल खेलिसकेको नेपालले अब अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ।
छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसँग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो। यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो। अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो।