नेवार समुदायले आज पनि भाइटीका लगाउँदै, रानीपोखरी पनि खुला
नेवार समुदायका केही समूहले मंगलबार पनि भाइटीका लगाउँदैछन्। सरकारले नेवार समुदायको भाइटीका (किजापूजा)का लागि मंगलबार पनि देशभर सार्वजनिक बिदा दिएको छ। आज बिहान केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायले भाइटीका लगाउन लागेका हुन्। तर, धेरैजसोले भने सोमबार नै भाइटीका लगाइसकेका छन्।
यसैबीच, भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ। मन्दिर बिहान ५ बजेदेखि नै खुला गरिएको हो। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबार पनि भाइटीका मान्नेहरूका दर्शनको व्यवस्था गरिएको बताए।
बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन्।
पुनर्निर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर पाँच वर्षपछि योपटक खुलेको हो। केही समयअघि रानीपोखरी र मन्दिरको पुनर्निर्माण सकिएको थियो।