कोरोना भ्याक्सिनले ९५ प्रतिशत प्रभावकारीता देखाएको दावी
एउटा अमेरिकी कम्पनीले कोरोना भाइरसविरुद्धको एउटा खोपले करिब ९५ प्रतिशत प्रभावकारीता देखाएको दाबी गरेको छ। अमेरिकी औषधी उत्पादक कम्पनी मोडेर्नाले सोचेको भन्दा राम्रो नतिजा निस्केको दाबी गरेको छ। तर उक्त औषधीको अन्तिम नतिजा आउन केही महीना लाग्ने न्यूयोर्क टाइम्सले जनाएको छ।
सम्भवत: वसन्त ऋतुभन्दा पछि मात्रै यो सार्वजनिक हुनसक्ने बताइएको छ। यसअघि अर्को औषधी उत्पादक कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिनले ९० प्रतिशत प्रभावकारीता देखाएको दावी गरेको थियो।
मोडेर्ना कोरोना भ्याक्सिनमा उच्चतम सफलता प्राप्त गर्ने दोस्रो कम्पनी हो। यसअघि फाइजरले बीयोनटेक सँग मिलेर ९० प्रतिशत प्रभावकारीता भएको भ्याक्सिन बनेको बताएको थियो। विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको भ्याक्सिन अन्य १० वटा कम्पनीले पनि काम गरिरहेका छन्। त्यसमध्ये कतिपय कम्पनीका उत्पादनहरू तेस्रो चरण किल्निकल ट्रायलमा काम गरिरहेका छन्।