बांग्लादेशसँग दोस्रो खेल जित्नै पर्ने दबाबमा रहेको नेपाल प्रशिक्षणमा व्यस्त
नेपाली राष्ट्रिय फुटबल टीम बांग्लादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त छ। पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै पर्ने दबाबका साथ प्रशिक्षणमा जुटेको हो।
नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ। नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताए।
पहिलो खेलमा भएका कमिकमजोरीहरूलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरू रहेको उनले बताए। कोभिडका कारण अभ्यासमा पर्याप्त समय नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको महर्जनले बताए। आगामी खेलमा पहिलो खेलमा देखिएको कमजोरीलाई सच्याउने पनि उनको प्रतिवद्धता छ।
खेलाडीहरू पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन्। टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरूको भनाई छ।
शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो। ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण २ मंसिरमा हुनेछ।