हङकङको एक रेष्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु
हङकङमा रहेको एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। जोर्डन क्यान्टोन रोडस्थित् जिरे खुर्सानी रेष्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुने सबै, ७ जना नै नेपाली नागरिक हुन्।
हङकङको समय अनुसार आइतबार राति करीब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइते भएका थिए। तीमध्ये सात जनाको मृत्यु भएको हङकङस्थित् पत्रकार देवराज राईले बताएका छन्। मृत्यु हुनेमा चार पुरुष र तीन महिला रहेका छन्।
मृत्यु भएका १० वर्षीय रायन कँडेल, ३८ वर्षीय युवराज कँडेल, ३९ वर्षीय शेर गुरुङ बाहेक अन्यको सनाखत हुन बाँकी छ। मृत्यु हुनेहरू अधिकांश बागलुङका रहेको बताइएको छ। रेष्टुरेन्ट सञ्चालक भने धरानका हुन्।
घटना भएको स्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बिचमा पर्छ। जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो। अग्नि नियन्त्रक सुरक्षाकर्मीले करीब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।
घाइतेलाई नजिकैको क्वीन एलिजाबेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। एक जना सामान्य उपचारपछि घर फर्किएका छन्।
जन्मदिनको पार्टी मनाउने क्रममा आगलागी भएको भनिएको छ। यसबारे त्यहाँको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।