खुलामञ्चमै खाना, खुलामञ्चमै भाइटीका
बन्दाबन्दीका कारण समस्यामा परेका नागरिकहरूलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सोमबार भाइटीकाको दिन सर्वसाधारणहरूलाई टीका लगाइदिएको छ।
गत वर्षको १४ चैतदेखि काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले कोही पनि दाजुभाईको निधार खाली नहोस् भनेर खुलामञ्चमै भाइटीका लगाइएको संस्थापक सदस्य कविता पौडेलले बताइन्।
कोरोनाका कारण आफ्नो दिदीबहिनीहरूलाई भेट्न जान नपाएका दाजुभाईहरूलाई आज भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएको उनले बताइन्।
बन्दाबन्दीपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दशैंमा पनि सर्वसाधारणहरूलाई टीका र जमरा लगाइदिएको थियो। २ मंसिर (मंगलबार) देखि भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ।
काठमाडौं महानगरपालिकाले स्वस्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द गराउन लागेको हो। महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै सक्दो सहयोग गर्ने बताइसकेको छ।