हुम्लामा हिमपातः तापक्रम माइनसमा झर्यो, सुनखानी प्रहरी चौकी सदरमुकाम सर्यो
हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ। सोमबार बिहानैदेखि सदरमुकाम सिमकोट माथिका वस्तीहरूमा निरन्तर हिमपात भइरहेको छ। हिमपातले सदरमुकाम सिमकोटदेखि माथिका क्षेत्रमा अत्यधिक जाडो बढेको छ। गएको तीन दिनदेखि बादल लाग्ने गरेको भएपनि जिल्लाका अधिकांश क्षेत्रमा सोमबार बिहानैदेखि हिउँ पर्न शुरू गरेको हो।
हिमतासँगै सिमकोट र नाम्खा गाउँपालिकाको तापक्रम माइनस ५ भन्दा तल झरेको छ। “पहिलो पटक हिउँ परेर अहिले हामीलाई घरबाहिर निस्कनै गाह्रो भएको छ,” नाम्खा गाउँपालिकाको मुचुका छपेल लामाले भने, “हिउँ सामान्य आएको छ तर हिउँसँगै चलेको हावाले घरबाट बाहिर निस्कन नसकिने अवस्था छ।”
अनका अनुसार हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरूमा जाडो निकै बढेको छ।
“हिउँले जुन भाँडोमा पानी राख्यो त्यही जमेर बरफ भएको छ” उनले थपे, “खानेपानीको पाइपमै बरफ जमेर पानी नै नआएपछि बिहान कित्लीमा पानी तताएर राखेपछि मात्रै पानी आएको हो।”
जाडोले प्रहरी चौकी सर्यो
अत्याधिक जाडो बढेपछि उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा सुरक्षार्थ राखिएको सुनखानी सीमा प्रहरीचौकी सदरमुकाम सिमकोट सरेको छ।
स्थानीय तापक्रम माइनस १० भन्दा तल झरेर सहज रूपमा बस्न सक्ने अवस्था नभएपछि नाम्खा गाउँपालिका–६ लिमीको सुनखानीमा रहेको सुनखानी प्रहरी चौकीलाई जाडो महीनासम्मका लागि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक सिताराम बिष्टले बताए।
“अत्याधिक जाडो बसेपछि प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मीलाई बस्नै नसक्ने स्थिति भयो”, उनले भने, “प्रदेश र गृहको अनुमति लिएर हामीले अहिले उक्त प्रहरी चौकी सदरमुकाम सारेका हौं।”
वर्षेनी जेठ महीनामा सीमा सुरक्षा प्रहरी चौकी नाम्खा गाउँपालिका– ६ लिमीको सुनखानी बस्ने गरे पनि चिसो शुरू भएसँगै जिल्ला फिर्ता भएको प्रहरी निरीक्षक अधिकारीले बताए।
प्रहरी चौकीबाट सीमा क्षेत्र टाढा भएकाले सहजै रूपमा गस्ती गर्न नसक्ने र प्रहरी चौकी पनि व्यवस्थित नभएकाले जाडोमा कष्टकर रूपमा बस्नु भन्दा प्रहरी चौकीलाई सार्दा उपयुक्त हुने देखेर आफूहरूले तत्कालका लाग चौकीलाई अस्थायी रूपमा सिमकोट सार्न सहमति दिएको नाम्खा गाउँपालिका– ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताए।
सुनखानी प्रहरी चौकीमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी भए पनि अहिले सातजना प्रहरी मात्रै कार्यरत थिए।