सम्झनामा गाउँको तिहारः बिजुली होइन, मैनबत्तीको झिलिमिली
वर्षभरीमा लक्ष्मीपूजाको साँझ मात्र गाउँ उज्यालो हुन्थ्यो। कुनैदिन बिजुली आउला भन्ने कल्पना गर्दै लाल्टिनको बेला (सिसा) सफा गर्दा तथा धिप्री र पानसको ध्वाँसो फालेर नयाँ झुम्रो राख्दाका ती दिन शहरमा बलेका झिलिमिली बत्तीले झल्झली सम्झाउँछन्।
कोरोना कहरको यो वर्षको तिहारले कुनै उमंग ल्याएन। ‘आयो-गयो’ भनेजस्तै भयो। यो वर्ष यसो हुनु जरुरी थियो। कोरोना आफूले पनि नसार्ने र आफूमा पनि नसार्ने संकल्पसहित तिहार मनाउनुपर्छ।
तिहारमा झिलिमिलि बत्तीको गुजुल्टोले सर्लक्कै जेलिएका घरहरुलाई हेरिंरहँदा मेरो मन चाहिँ उडेर गाउँतिर गैरहेछ। बत्ती नभएको गाउँमा औँशीको रातमा पिलपिले मैनबत्तीको लस्कर र केराको सुप्लामा बलेका कपासका बत्तीहरुले निल्न खोजिरहेको अध्यारो र मनभित्र बलेको धप्प उज्यालो। न्यानो र रापिलो।
दशैंमा हरेक वर्ष गाउँ (तनहुँको तत्कालीन क्यामिन गाविस, बर्लाची गाउँ) जाने गरे पनि तिहारको छुट्टीचाहि छोटो हुने भएकोले काठमाडौं बस्न थालेपछि आक्कलझुक्कल मात्र गइयो। गाउँमा बिजुली पुगेको पनि १५—१६ वर्ष भैसक्यो। त्यसकारण औँशीको रातमा उज्यालो बाल्न आजकाल मैनबत्तीको भर पर्नु पर्दैन। केराको सुप्लामा कपासको बत्ती बाल्ने चलन चाहिँ छैन। बिजुलीबत्ती भएपछि त्यसो गरिरहनै परेन।
आजकालको तिहार फरक हुँदै गएको छ। तिथिमिति खप्टिएको हो कि चालचलन फेरिएको हो, कुकुर तिहारको दिनमै लक्ष्मीपूजा पर्छ! धनतेरस भन्ने नयाँ चाड भित्रिएको छ।
गाउँमा यमपञ्चक शुरु हुनुभन्दा अगाडीको एकादशीको दिन पिँडो भुटिन्थ्यो। धान, मकै, गहुँ भुटेर ढिकीमा कुटेपछि पिँडो तयार हुन्थ्यो। घरमा पालिएका गाई, गोरु, भैसीका लागि तिहारको विशेष परिकार हो, पिँडो। मानिसका लागि सेलरोटी पाकेजस्तो।
तिहारको पहिलो दिन कागलाई भात खुवाएर तिहार शुरु हुन्थ्यो। आँगनको डिलमा दुनामा राखिएको भात खान काग आयो कि आएन भन्ने खूब चासो हुन्थ्यो। दोस्रो दिन कुकुरतिहार। तर, बर्लाचीको हाम्रो बगाले टोलमा कसैको घरमा कुकुर थिएन। आक्कलझुक्कल पर्तिरका गाउँबाट कुकुर आइहाल्यो भने पूजा हुन्थ्यो। कुकुर आउला कि भनेर आँगनको डिलमा भात राखिन्थ्यो।
कुकुर तिहारको भोलिपल्ट गाई तिहारको दिन खास रौनक हुन्थ्यो। यो दिन बाबियोको लामो तोरण बाटिन्थ्यो, तगारोको वारपार टाँग्न मिल्ने गरी। बाबियोलाई पानीमा भिजाएर बाटेपछि त्यसमा पिपलको पात, आँपको पात, तितेपाती, सयपत्री, गुद्यौली आदि फूल, कपास, एक दुई रुपैयाँका केही नोट, र मसिनोसंग बाटिएका ससाना कुचाहरु मिलाएर तोरणलाई झपक्क बनाइन्थ्यो।
तगारोमा तोरण टाँगेपछि गाउँभर डुलिन्थ्यो, अरुहरुका तोरण हेर्न। कसैका निकै लामा हुन्थे, कसैका छोटा। कसैका तोरणमा फूलैफूल हुन्थ्यो त कसैकोमा आँप, पिपल र पातीका झुप्पा। अनि गाइपूजा गरिन्थ्यो।
घरघरै गाई हुँदैन थिए। गाउँमा एकाध घरमा मात्र गाई हुने हुँदा पूजा गर्नेको भीडै लाग्थ्यो। गाईलाई माला र टीका लगाइदिएर घ्यूमा पकाएको चामलको पातलो रोटी र पिँडो खुवाइन्थ्यो। ढाडभरी स्टिलको गिलासले चामलको पिठोको घोल बनाएर ढाप लगाइन्थ्यो। गाईसँगै भैसीले पनि पिँडो खान पाउँथे।
भैसीका ढाडमा रौं कम र छाला कालो हुने हुँदा पिठोको ढाप खुब सुहाउथ्यो। गाईभैँसी रहरलाग्दा देखिन्थे। बाख्राको ढाडचाहि रौँ नै रौँ हुने हुँदा ढाप बस्दैनथ्यो। जनै पूर्णिमाको दिन हातमा बाँधेको डोरो सो दिन गाईको पुच्छरमा बाधिदिए मरेपछि बैतरणी नदी गाईको पूच्छरमा झुन्डिएर तर्न पाईन्छ भन्ने जनविश्वासले कतिपयले हातको डोरो कालो भए पनि बाधिराख्थे। अनि पूजा गरेपछि गाईको पूच्छरमा बाँधिदिन्थे।
साँझ रोटी पाक्दै गर्दा घरैभर मैनबत्ती बाल्यो। पिढी, बार्दली, कोठा, कोठी, भण्डार, गोठ, तला, आँगनको डिल सबैतिर मैनबत्तीको लस्कर। हेर्दै लोभलाग्दो देखिन्थ्यो, हावाले ढलाएर आगो लाग्ला कि भनेर सजग पनि हुनुपर्ने।
गाईपूजा सकिएपछि चामलको पिठो कुट्ने गरिन्थ्यो। अघिल्लै दिन भिजाएर राखेको चामल ढिकीमा कुट्दाको आवाजले गाउँलाई रमाइलो बनाउथ्यो। साँझ घरघरमा सेलरोटी पाक्थ्यो। घ्यूमा पकाइएका सेलरोटी रहरलाग्दा हुन्थे। सेलरोटी थोरै हो र? डालैभरी, सोलीभरी। थुप्रो दिन खान बाड्न पुग्ने गरी।
साँझ रोटी पाक्दै गर्दा घरैभर मैनबत्ती बाल्यो। पिढी, बार्दली, कोठा, कोठी, भण्डार, गोठ, तला, आँगनको डिल सबैतिर मैनबत्तीको लस्कर। हेर्दै लोभलाग्दो देखिन्थ्यो, हावाले ढलाएर आगो लाग्ला कि भनेर सजग पनि हुनुपर्ने।
मैनबत्तीसँगै केराको सुप्लामा कपासको बत्ती तेलमा भिजाएर पनि बालिन्थ्यो। अनि बल्ल रोटी खाने पालो। देउतालाई चढाएपछि हाम्रो पालो आउथ्यो। काँडा पलाएर झुरुमझुरुम रोटी। कति रहरलाग्दा पो हुन्थे।
गाउँमा नियमित भात खाने चलनले त्यो साँझ पेटभर (८—१०) वटा सेल खाए पनि अलिकति तातो भातचाहि खाउँखाउँ लाग्थ्यो। खाईन्थ्यो। वर्षभरि थन्क्याएर राखिएका खोपे थाल (खण्डे थाल) त्यो दिन झिकिन्थ्यो। माझेर टलक्क बनाईन्थ्यो। खण्डे थालमा सेलरोटीसंग भिन्डी र करेलाको अचार, तरकारी र दूध स्वाद मानेर खाईन्थ्यो।
साँझ बत्ती हेर्न गाउँभर डुलिन्थ्यो। कसैले पटका पनि पड्काउँथे। पटका नहुनेले चुरोटको झिलझिलेमा सलाईका काटीको मसला जम्मा पारेर लोहोराले थिचेर पनि पड्काउथे। तिहारको मुख्य रौनक नै गाईतिहारको दिन हुन्थ्यो। गाउँमा टाढा—टाढाबाट दिदी बहिनी र भान्जाभान्जी आउने मुख्य दिन पनि यही भएको हुँदा गाउँ गम्मागम्मी हुन्थ्यो। धेरैजसोका घर भरिभराउ।
यो सबै रमाईलोमा रंगोलीको रमाईलो चाहिँ भित्रिएको थिएन। रंगोली देखेको त काठमाडौं आएपछि मात्र हो। यसको सांस्कृतिक मूल्य मान्यता नबुझेकोले रंगोली आफन्त होइन, पाहुनाजस्तो लाग्छ। हेर्दा राम्रो छ। कला देखाउने मेसो पनि हो। त्यसकारण रंगोलीलाई तिहारमा स्वागत छ। सायद गाउँतिर पनि आजकाल रंगोली बन्छ होला।
अनि चौँथो दिन गोरु तिहार। बारी जोत्दाजोत्दा हत्तु हुने गोरुले त्यो दिन माया पाउँथ्यो। जोत्ने समयमा त मुखमा कोर्को, ढाँडमा लठ्ठीको सुम्लो र घाँटीमा ट्याप्प कसिएको नारा र जोतारा। कठै गोरुको जुनी। गोरु र खच्चडको जस्तो दुखी जिन्दगी त कुन प्राणीको होला र! अरुदिन जति चुटाइ खाए पनि त्यो दिन चाहिँ गोरुले आराम र माया पाएको देख्दा खुशी लाग्थ्यो। गोरुलाई माला लाइदिने, पिँडो खान दिने, ढाडमा स्टिलको गिलासले पिठोको ढाप लगाउने गरिन्थ्यो।
अन्तिम दिन भाइटीका। ताता रोटी खाने रहर सो दिन बिहान धेरथोर सेलरोटी पाक्थ्यो। टीकाको साइत चाँडै छ भने अघिल्लै दिन सयपत्री र मखमली फूल टिपेर राखिन्थ्यो। ढिलो साइत निस्कँदा सबैलाई सजिलो हुन्थ्यो। माला गाँस्न, लिपपोत र बढारकुढार गर्न, रोटी पकाउन, तरकारी अचार बनाउन समय पुग्थ्यो। टीका लगाउन केराको पात चाहिन्थ्यो। एउटा रेसो चिरेर निधारमा ठिक्क हुनेगरी राखेर त्यसमाथि टीका लगाउँदा सिधा हुन्थ्यो।
तिहारमा महिलाहरुलाई श्वास फेर्न फुर्सद हुँदैन। कामैकाम। लिपपोत। बढारकुढार। अनेक परिकार बनाउ। माला गाँस। पिठो कुट। रोटी पकाउ। पिँडो भुट। सम्झँदै अत्यासलाग्दो। छोरी नहुनेका घरमा त तिहार खल्लो हुन्छ। कतिपय पुरुष चाहिँ तासको खालमा बेफुर्सदी बनिदिन्छन्। खालमै रात बिताउछन्। दिन बिताउछन्। कतिपयलाई त टीका लगाउने फुर्सद पनि हुँदैन। यो चलन मलाई साह्रै ननिको लाग्छ।
तिहार उज्यालो भित्र्याउने चाड हो। दाजुभाई र दिदीबहिनी भेटाउने चाड हो। एक-अर्कालाई माया र सम्मान गर्ने चाड हो। दाजुभाइ मात्र पूज्ने चाड होइन। दाजुभाइ र दिदीबहिनीलाई बराबर पूज्ने हो। सबैलाई तिहारको शुभकामना।