ट्रम्पले लेखे- बाइडेनले चुनाव जिते, किनकि धाँधली भयो
अमेरिकी राष्ट्रपतिले जो बाइडेनले चुनाव जितेको भन्दै ट्विट गरेका छन्। तर, उनको यो हारको स्वीकारोक्ति थिएन। बाइडेनले धाँधली गरेर चुनाव जितेको उनले फेरि दोहोर्याएका छन्।
आइतबार डोनाल्ड ट्रम्पले ट्विट गर्दै लेखेका छन्, “उनले चुनाव जिते, किनकि चुनावमा धाँधली भयो।” गएको ३ नाेभेम्बरमा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई बहुमतभन्दा निकै कम मत मिले पनि उनले हार स्वीकार गरेका छैनन्।
उनले केही राज्यमा कानूनी लडाइँ शुरु गरेका छन्। तर, उनले आफ्नो दाबीलाई सही साबित गर्ने सबुत पेश गर्न सकेका छैनन्। त्यसैले अदालतबाट उनको पक्षमा कुनै फैसला भएको छैन।
उनले आइतबार नै अर्को ट्विट गर्दै लेखेका थिए, “धाँधलीयुक्त चुनाव, हामी जित्छौँ!” फेरि उनले अर्को ट्विटमा लेखे, “उनले सिर्फ फेक न्यूज मिडियाका नजरमा जिते। म स्वीकार गर्दिनँ! हामीलाई अझै धेरै अगाडि जानुछ। यो चुनावमा धाँधली भएको छ!”
तर, शुक्रबार मात्र अमेरिकी चुनावको सुरक्षा बन्दोबस्ती हेर्ने केही वरिष्ठ अधिकारीको बैठकले यो चुनाव अमेरिकाको इतिहासमै सबैभन्दा सुरक्षित भएको उल्लेख गरेका थिए। विभिन्न अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले पनि चुनाव धाँधलीरहित भएको बताएका छन्।
तर, शुक्रबारै ह्वाइट हाउसका प्रवक्ता केली मैकनैनीले एक समाचार च्यानललाई दिएको अन्तरवार्तामा भनेका थिए, “डोनाल्ड ट्रम्पलाई आफू राष्ट्रपतिमा रहिरहने भरोसा छ।” ट्रम्पले पनि ट्विटरमा चुनावमा धाँधली भएको र आफूले जित्ने लगातार लेख्दै आएका छन्। उनका ट्विटलाई ट्विटरले ‘अमेरिकी चुनावमा धाँधलीको आरोप विवादास्पद छ’ भन्ने चेतावनी उल्लेख गरिदिएको छ।
यसैबीच शनिबार ट्रम्पका समर्थकले वाशिङ्टनमा प्रदर्शन गरेका थिए। प्रदर्शन शुरुमा शान्त रहे पनि साँझतिर कतैकतै हिंसा भएको थियो। प्रहरीले प्रदर्शनमा सहभागी भएका २० जनालाई पक्राउ गरेको थियो।
-बीबीसी हिन्दीबाट